बर्दियाका महिला सिडियो रुद्रादेवीको बर्दिया अनुभव

बर्दिया-  बर्दिया जिल्लाको नेतृत्व सम्हालिरहेकी छन्, रुद्रादेवी शर्माले । ०७६ बाट नै उनको प्रजिअको यात्रा रोकिएको छैन । रामेछाप, गुल्मी, भक्तपुर, काभ्रेपलाञ्चोक हुँदै उनको ५ औं जिल्लाका रूपमा कार्यभार सम्हाल्न बर्दिया पुगेकी हुन् । प्रजिअका रूपमा ३ महिना पुग्नै लाग्दा अन्य जिल्लामा भन्दा बर्दिया चुनौती धेरै रहेको उनले महसुस गरेकी छन् । राष्ट्रिय निकुञ्ज भएकाले मानव र जनावारबीचको द्वन्द्व, चोरी/सिकारी, वन फँडानी जस्ता समस्याहरूलाई नियन्त्रण गर्नु चुनौती छ । अर्कोतिर खुला सिमाना भएकाले पनि चोरी, निकासी धेरै हुने गरेको उनले बताइन् ।

‘जिल्लागत रूपमा समस्याहरू फरक हुन्छन् तर बर्दिया राष्ट्रिय निकुञ्ज सँगसँगै खुला सिमाना भएकाले केही बढी चुनौती महसुस गरेको छु,’ शर्माले भनिन् । चुनौतीले समस्या समाधान गर्न अन्य जिल्लाको अनुभवले अगाडि बढाइरहेको छ । रामेछाप र भक्तपुरमा उनले कोभिडको रोकथामको अंगपंक्तिमा काम गरिन् । स्थानीय चुनाव पनि उनले शान्तिपूर्ण रूपमा सफल बनाइन् । उनले भनिन्, ‘आफूमा आत्मविश्वास र टिमवर्कमा काम गर्न सकेमा जस्तो परिस्थितिमा पनि सहजै काम गर्न सकिन्छ ।’

Advertisement

महिला प्रजिअ भएर काम गर्दा धेरै महिलाहरूमा सशक्तीकरणका लागि सहयोग पुगेको उनले बताइन् । प्रजिअ भएर पुगेका हरेक जिल्लाका बुबाआमाले उनका सन्तानको भविष्य आफूमा देखेको शर्माको अनुभव छ । ‘महिलाले पनि जिल्ला सम्हाल्न सक्ने रहेछन्, तिमीहरू पनि यस्तै बन्नुपर्छ भनेर अभिभावकले आफ्ना छोरीहरूलाई प्रोत्साहन गरिरहेका छन्,’ महिलाहरूले पनि आफ्ना समस्याहरू खुलेर भन्न सकेको सुनाउँदै उनी थप्छिन्, ‘महिला सशक्तीकरणका लागि महिला नेतृत्व नै आवश्यक छ ।’ हरेक समय जनताको सेवामा खटिनु प्रजिअको मुख्य जिम्मेवारी हुन्छ । उनका अनुसार प्रजिअको कुनै समयसीमा नै हुँदैन, फोन अफ गरेर बस्न पाइँदैन । सुरक्षा संगठनजस्ता सबै निकायहरूलाई ‘अलर्ट’ राख्न निर्देशन दिन्छिन् । भनिन्, ‘विपत् कतिबेला कहाँ घट्छ थाहा हुन्न, त्यसका लागि प्रजिअदेखि सुरक्षा निकाय सधैं अलर्ट भएर बस्नुपर्छ, यसका लागि नेतृत्वदायी भूमिकामा आफू सक्षम हुनुपर्दछ ।’ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु