जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडा न. २४ का वडाध्यक्ष उपेन्द्र सहनी, वडा सचिव उपेन्द्र साह र कार्यालय सहयोगी विजय मण्डल घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।
Advertisement
उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको बर्दिबास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए। उनका अनुसार वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेका थिए।
घुस मागिरहेको सूचनाको आधारमा पछ्याउँदै जाँदा रंगेहात पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख कुरुम्वाङले बताए।









