काठमाडौं । चिकित्सकहरुमाथि ऋखंलाबद्ध अक्रामण हुन थालेपछि मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताल लगायत काठमाडौं उपत्यकाका डाक्टरहरू सहभागी छन्। सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। त्यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।
Advertisement
आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका( ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ।
यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए। सरकारसँग ६ बुँदे सम्झौता भएपछि चिकित्सकहरू काममा फर्किएका थिए।









