नेपालगन्ज- कर्णाली प्रदेश सल्यान जिल्ला शंखमुलका जितबहादुर क्षेत्री चाडपर्व मनाउन भारत सिमलाबाट घर फर्किएका छन् ।
नेपालगन्ज नाका भएर उनी साथीभाईहरु संग घर फर्किएका हुन । चाडपर्व मनाउन भारतबाट घर फर्किएको उनको लागि नयाँ होईन ।
Advertisement
एक दशकदेखि मजदुरी गर्न भारत आउजाउ गर्दै आएको क्षेत्री बताउँछन् । ‘कोरोनाको महामारी सुरु भएपछि घर फर्किएका थियो । गाउ“घरमा काम नपाएपछि कोरोनाको महामारीमै फेरि भारतमा काम गर्न गइयो,’ उनले भने,‘खेतिपाती गर्न र चाडपर्व मनाउन घर फर्किन्छौँ। दसैं तिहार मनाएर फेरि काम गर्न भारत नै जाने हो ।’ उनका अनुसार गाउँका सय बढी युवाहरु आफूजस्तै कामका लागि भारत जाने गरेका छन् ।
दैलेख दुल्लु ५ का नबिन खत्री सोमबार नेपालगन्ज नाका भएर घर फर्किएका छन् । उनी कोरोनाको महामारीकै बेला काम खोज्दै भारत छिरेका थिए । पछिल्लो ८ महिना भारतको चण्डीगढमा मजदुरी गरेर घर फर्किन पाएको उनी निकै खुसी देखिन्थे । ‘परिवारसंग बस्ने रमाउने मौका भनेकै हाम्रो लागि चाडपर्व त हो नि । अरुबेला त काम गर्नै परयो,’ उनले भने,‘आफ्नै गाउँठाउँमा काम पाईदैन त्यसैले भारतमा काम गर्न जानु पर्छ ।’ नबिनसंगै नेपालगन्ज हुँर्द डोल्पा त्रिबेणी ६ का बिक्रम केसी, विनय थापालगायत सयौँ नेपालीहरु चाडपर्व मनाउन घर फर्किएका छन् । घर फर्किने नेपालीहरुको सीमामा लर्को छ । भारत जान राहदानी आवश्यक नपर्ने र लागत नलाग्ने गरेका कारण नेपाली मजदुरको गन्तब्य भारतका विभिन्न शहरहरु बन्दै गएको छ ।
कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, रुकुम, रोल्पा, सल्यान, जाजरकोट लगायतका जिल्लाबाट हजारौ युवाहरु काम खोज्न भारत पस्ने र चाडपर्वका समयमा घर फर्किने गरेका हुन । घर फर्किएका अधिकांश युवाहरुले चाडपर्व मनाएर फेरि पनि भारतमै काम गर्न जाने बताउँछन् ।
भारतको दिल्ली, गुजरात, राजिस्थान, मुम्बै, भूपाल, सिमला, कालापहाड, लगायतका स्थानमा रोजगारीका लागि नेपालीहरु हरेक वर्ष पुग्ने गरेका छन् । खेतीपाती र चाडपर्वका बेला उनीहरु घर फर्किने र फेरि भारत फर्किन्छन् । ‘चार÷पाँच महिना घर बसिन्छ । होईन भने फुर्सद भएपछि काम गर्न भारत गैहाल्छौँ,’ डोल्पाका बिनय भन्छन्,‘भारतमा सहजै काम पाइहालिन्छ ।’ बेरोजगारी बढेसंगै हजारौ युवा र बालवालिकाहरु कामको खोजिमा भारत पस्ने परम्पराजस्तै बनिसकेको छ ।
सीमास्थित ईलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख सई पुर्णं खत्रीले दसैंको मुखमा भारतबाट दैनिक दुई हजार बढी नेपालीहरु घर फर्किरहेको बताए । उनले सीमामा लुटपाटका घटना हुनसक्ने भन्दै भारतीय सुरक्षाकर्मीहरुसंग समन्वय गरिरहेको जनाए । ‘नेपालीहरु घर फर्किने बढेसंगै सीमामा निकै भिडभाड हुने गरेको छ । सहजरुपमा नेपालीहरुलाई आउन दिने व्यवस्था मिलाएका छौँ,’ उनले भने ।
अस्तव्यस्त नाका
नेपालगन्ज नाकामा भिड बढेसंगै त्यहाँको अवस्था अस्तव्यस्त छ । सवारी साधन भारत लैजान नपाएपछि फोरलेन सडकको बीचमा मोटरसाईकल पार्किङ गरिन्छ । भारतीय सुरक्षाकर्मीहरुले नेपालीहरुलाई भारत प्रवेश गर्न दिने तर सवारी साधन लैजान नदिएका कारण भिडभाड बढी हुने गरेको छ । तर भारतबाट दैनिक सयौं मालबाहक ट्रकहरु नेपाल भित्रिने गरेको छ । भन्सार गराउनका लागि सयौं मालबाहक ट्रकहरु फोरलेन सडकमै पार्किङ गरेको देख्न सकिन्छ । रिक्सा, मोटरसाईकललगायतका सवारी साधनका कारण सर्वसाधारणहरुलाई आउजाउमा समेत समस्या हुने गरेको छ ।









