आइतबारसम्मै देशभर वर्षाको सम्भावना

 

काठमाडौँ/ ईकान्तिपुर —शुक्रबार बिहानदेखिको निरन्तर वर्षाले मुलुकभर जनजीवन प्रभावित भएको छ । दसैंको चहलपहल सुरु भइसकेका बेला देशभर एकैसाथ वर्षा भएपछि मानिसको आवागमन प्रभावित भएको छ । देशका विभिन्न भागमा बाढीपहिरो र डुबानको त्रास बढेको छ ।

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । कोशी, वाग्मती र लुम्बिनी प्रदेशका कतिपय ठाउँमा धेरै भारी र अति भारी वर्षासमेत भएको छ । विभागले १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षाका रूपमा लिने गरेको छ । १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र त्यसभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ ।

शुक्रबार राति ९ बजेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापामा २९९ मिलिमिटरसम्म वर्षा मापन भएको छ । झापाकै केचनामा २२८, चन्द्रगढीमा २९८, बिर्तामोडमा २५३, गौरादहमा २४३ मिलिमिटर वर्षा मापन गरिएको छ । इलाममा १५९ मिलिमिटर, विराटनगरमा १६९, सप्तरीमा १५५ र बारामा १४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, चितवनमा १५८, नवलपरासीमा १७३, भैरहवामा १५४, कपिलवस्तुमा १४९, गुल्मीमा १५१, पाल्पामा २६७ र धनगढीमा १०४ मिलिमिटर वर्षा भएको छ ।

अविरल वर्षाका कारण दर्जनौं नदीमा जल सतह जोखिमपूर्ण अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकामा वाग्मती नदीले पनि खतराको पार गरेको छ । विष्णुमती, धोबीखोला, ललितपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा पनि पानीको सतह बढेको छ । जल मापन केन्द्र खोकना, गौरीघाट, बल्खु खोला, बलम्बु, विष्णुमती र गोंगबु बसपार्कमा पानीले जल सतह सतर्कताको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी तटीय क्षेत्रमा यात्रा नगर्न र उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । अविरल वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशय भरिन लागेको भन्दै जिल्ला प्रशासनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीमा जलाशय भरिएर जुनसुकै बेला बाँधका ढोका खोल्नुपर्ने स्थिति रहेको प्रशासनले जनाएको छ ।

संघीय राजधानी भित्रिने पृथ्वी राजमार्ग दर्जनौं ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको छ । मुलुकका अरू दर्जनौं सडकमा पहिरोले आवागमनमा समस्या भएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सयौं यात्रु बाटामै अलपत्र परेका छन् । सडक अवरुद्ध भएको ठाउँमा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु