सीमामा अतिरिक्त पैसा बुझाउनु पर्ने अवस्था

धनगढी /बीबीसी-  भारतको महाराष्ट्रबाट दशैँ मनाउन घर फर्किएका सुर्खेतको बाबियाचौरका मदन गुरुङले आफ्ना साथीहरूसहित आफू शुक्रवार गौरीफन्टा नाकामै लुटिएको बताए।

उनले भने, ‘‘गौरीफन्टामा ओर्लिएर आउँदै गर्दा सिसा लगाएको बक्सजस्तो घर भित्रबाट हामीलाई बोलायो। प्रतिव्यक्ति १०० भारु मागे। हामीले प्रतिवाद गर्‍यौँ।”

Advertisement

“चोरी गरी ल्याएको पैसा हो र! पसिनाको कमाइ हो भन्यौँ। त्यसपछि धम्काउँदै हामीलाई ब्याग खोल् भन्न थाले। लफडा गर्नुभन्दा बाध्य भएर हामी ६ जनाले ६ सय बुझायौँ।’’

गौरीफन्टामा नाकामा यसरी नेपालीहरू स्वदेश फर्कँदा पैसा बुझाउनु पर्ने र लुटपाट हुनेसम्मका घटना भएका विवरणहरू बारम्बार आउने गरेका छन्।

विशेषगरी नेपाली कामदारहरू भारतबाट स्वदेश फर्कँदा सीमामा भारतीय सुरक्षाकर्मी र कर्मचारीहरूले दु:ख दिने गरेको गुनासो आउने गर्छ।

बाजुराको छताराका चन्द्रबहादुर विश्वकर्माले “मान्छे हेरीहेरी भारतीय कर्मचारीले जबरजस्ती तिर्नु नपर्ने पैसा तिर्न लगाउने गरेको” दाबी गरे।

उनी नेपाली प्रशासनकै अगाडि भारतीय पक्षबाट जबरजस्ती गरिँदा नेपाली पक्षले केही सहयोग नगरेको भारतबाट फर्कने कामदारहरूको गुनासो छ।

नेपाली सुरक्षाकर्मीमाथि पनि आरोप
सीमाबाट स्वदेश प्रवेश गर्दा भारतीय सुरक्षाकर्मी र कर्मचारी मात्र होइन नेपाली सुरक्षाकर्मीले समेत ठाउँठाउँमा दुःख दिने गरेको गुनासो नेपाली नागरिकहरूको छ।

‘‘एक ठाउँमा होइन, पाँच ठाउँमा चेक गरिन्छ। पैसा पनि मागे,’’ नयाँ दिल्लीबाट गौरीफन्टा नाकाहुँदै बाजुरा जान लागेका शंकर विश्वकर्माले भने।

भारतबाटै गाडी भाडामा लिएर आउँदा पनि सडकमा विभिन्न स्थानमा सुरक्षाकर्मीलाई अतिरिक्त रकम तिर्नु परेको उनले बताए।

सुरक्षाकर्मी के भन्छन्?
सशस्त्र प्रहरीको सीमा सुरक्षा बल धनगढीका प्रहरी उपरिक्षक दलबहादुर पाण्डेले सीमा नाकामा कडाइ गरिएको भए पनि रकाम असुल्ने काम नभएको बताए।

उनले भने, ‘‘हाम्रा मान्छेले पैसा लिएको पाइयो भने हदैसम्मको कारबाही हुन्छ। यसमा शून्य सहनशीलताको नीति छ।”

भारततिर बढी नै हैरानी भइरहेको थाहा भएपछि दुई पटक एसएसबीको कार्यालयमा बैठक राखिएको पनि उनले बताए।

भारतीय पक्षले पनि रकम असुल गर्ने घटना हुन नदिने प्रतिबद्धता जनाएको उनको भनाइ छ।

उनले भारततर्फको अवस्था अनुगमनका लागि पनि टोली बनाएकाले अब त्यस्तो अवस्था नआउने बताए।

नेपाल फर्कनेहरू पनि धेरै छन्
कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले भारतीय कर्मचारी र सुरक्षाकर्मीहरूले स्वदेश फर्किरहेका नेपालीलाई दु:ख दिएको गुनासोबारे सीमावर्ती भारतीय अधिकारीहरूसँग कुराकानी गरेको बताए।

भारतको लखिमपुर खिरीका जिल्ला अधिकारीसँग आफूले व्यक्तिगत रूपमै सम्पर्क गरेर त्यस्तो हुन नदिन पहल गरेको उनको भनाइ छ।

मिश्रले भने, ‘‘उजुरी कतैबाट आएको छैन तर पनि अनैतिक क्रियाकलाप भइरहेको थाहा पाएपछि मैले स्पष्ट कुरा राखेको छु। उहाँले त्यस्तो हुन नदिने वाचा गर्नु भएको छ।’’

उनले कसैले हैरानी बेहोर्नु परेको भए तत्काल प्रहरीलाई खबर गर्न पनि सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु