यसकारण हरेक दशैँमा गाउँ फर्कन्छन् सहर पसेकाहरू

बिबिसि – काठमाण्डूको एक निजी कलेजमा काम गर्ने स्याङ्जाका दिलीप पाण्डे राजधानी बस्न थालेको १६ वर्ष भयो। यसबीचमा उनी एक वर्ष मात्रै दशैँमा घर गएनन्।

गर्भवती श्रीमतीलाई दशैँमा भिडभाड हुने गाडीमा लिएर गाउँ जान आँट नआएपछि उनले काठमाण्डूको दशैँ अनुभव गर्ने निर्णय लिए त्यस वर्ष।

Advertisement

उनले जीवनमै पहिलो पटक विसं २०७६ सालको दशैँ काठमाण्डूमा मनाए।

“त्यो दशैँ मलाई निकै नरमाइलो भयो,” उनले बीबीसी न्यूज नेपालीसँग सुनाए।

“सप्तमीपछि सबै सुनसान हुने, सबै साथी गाउँ गएका छन् यहाँ भेट्न पनि कोही छैन। त्यसपछिका दुई दिन त कोठाबाटै बाहिर निस्कनै मन लागेन।”

उनले त्यो वर्ष एक प्रण गरे, “अरू बेला काठमाण्डू बसे पनि दशैँमा चाहिँ गाउँ नै जानुपर्ने रहेछ”।

दशैँ मनाउन राजधानीबाट हरेक वर्ष गाउँ जाने दिलीप जस्तै मानिसहरूका कारण यो चाड अगाडि उपत्यका छोड्ने मानिसहरूको सङ्ख्या हरेक लाखौँ हुने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताउने गरेको छ।

दशैँमा घर जाने दिन गन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका बन्जाडे पात्रोमा वर्षभरिको चाडपर्वको अपडेट आएपछि दशैँ आउन कति दिन बाँकी रहेछ भनेर जाँच्ने गर्छन्।

“हाम्रो पात्रोमा चाहिँ यति दिन बाँकी नै लेख्दिएको हुन्छ त्यसले गन्न सजिलो हुन्छ,” बन्जाडे भन्छन्। दशैँमा घर जाने दिन गनेर सामाजिक सञ्जालमा रमाइलो गर्ने बन्जाडे आफैँ पनि दशैँमा वर्ष नछुटाई घर जानेमध्येमा पर्छन्।

“दशैँ भन्ने बित्तिकै टिका लगाउनै पर्छ भन्ने पनि छैन मेरो। घर जाने उत्साह हो त्यो चाहिँ। म धार्मिक आस्था नराख्ने मान्छे हुँ त त्यो रौनकले लोभ्याउँछ,” उनले भने। दशैँको टिका नभए पनि उनी यो चाडमा सकेसम्म घटस्थापनाकै दिन दाङ हिँड्छन्।

“कतिपय दङ्गाली साथीहरू वर्षौँदेखि काठमाण्डूमा यहीँ वर्तिर-पर्तिर बसिरहेका छन् भेटै हुँदैन। उनीहरूसँग भेट हुने भनेकै दशैँमा घर गएको समयमा हुन्छ,” दशैँमा गाउँको रौनकबारे उनी सुनाउँछन्।

काठमाण्डू बस्न थालेको १९ वर्षमा उनी एक पटक मात्रै दशैँमा घर गएनन्। त्यो ग्यालेक्सी टेलिभिजन खुलेको वर्ष थियो। त्यस बेला दशैँ माया मारेर टेलिभिजनमा गरेको कामको पारिश्रमिक अझै पनि नपाउँदा उनलाई निकै पछुतो लाग्छ रे।

“अरू बेला संसारको सबैभन्दा व्यस्त सहर काठमाण्डू जस्तो लाग्छ। दशैँ तिहारमा यो जति एक्लो सहर कहीँ छैन जस्तो लाग्छ,” उनले सुनाए।

‘काठमाण्डूमा आफन्त हुँदैनन्’
दार्चुलाकी सङ्गीता महरा अध्ययनका लागि काठमाण्डू बस्न थालेको ११ वर्ष भयो। उनले राजधानी आएदेखि हरेक वर्षको दशैँमा आफू गाउँ नै पुगेको सुनाइन्।

उनको गाउँ पुग्न काठमाण्डूबाट गाडीमा ४८ घण्टाको यात्रा गर्नुपर्छ। दशैँका बेला त्यो यात्रा अझै कष्टकर हुन्छ।

“काठमाण्डूमा कोही आफन्त हुँदैनन्। गाउँमा बाबा ममी बाटो हेरेर बस्नुहुन्छ,” दशैँ नछुटाई गाउँ पुग्नुको कारण सुनाउँदै महरा भन्छिन्।

सोलुखुम्बुका चन्द्रमणि निरौला पनि विद्यालय तहको पढाइ सकेर काठमाण्डू बस्न थालेको १८ वर्ष भइसक्यो। उनी पनि तीनै लाखौँ मानिसहरूको भीडमा मिसिएर दशैँमा राजधानीबाट १२ घण्टा जीप चढेर आफ्नो गाउँ पुग्छन्। उनी कोभिड महामारीका बीचमा पनि दशैँमा गाउँ गए। गाउँमा क्वारन्टीनमा बस्नुपर्ने नियम नभए पनि वरपर हिँडडुल गर्ने अवस्था थिएन।

गाउँमा उनका वृद्ध बुवाआमा र फुपू दिदी छन्।

“बुवाआमा बूढाबूढी भएकाले र आफू जन्मिए हुर्किएको ठाउँ भएकाले यताभन्दा गाउँमा उहाँहरूसँगै बसेर मनाऊँ भनेर पनि चाडबाडमा चाहिँ गाउँ नै गइन्छ,” उनले भने।

“हामी कोभिड महामारीको बेला दोबर-तेबर भाडा तिरेर पनि गाउँ नै गइयो।”

सकसपूर्ण यात्रा
दशैँमा लामो दूरीका बसहरूको टिकटका लागि चाडबाड सुरु हुनुभन्दा केही समयअघि मात्रै बुकिङ खुल्ला हुन्छ। दार्चुला जाने गाडीको टिकट लिन सङ्गीतालाई हरेक वर्ष लाइन बस्नुपर्छ।

त्यसो गर्दा पनि दुई वर्ष उनले टिकट पाइनन्।

“टिकट नपाएपछि मानिसहरू हिँड्ने बीचको खुला ठाउँमा बसेर म गाउँ पुगेकी छु, जसरी पनि घर त जानै पर्‍यो” उनले सुनाइन्।

सोलुखुम्बुका निरौला दशैँमा सडकयात्रा निकै सकसपूर्ण र जोखिमपूर्ण हुने बताउँछन्।

“अरू बेलाभन्दा धेरै भाडा तिरेर पनि भिडभाडका कारण ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था दशैँको बेला हुन्छ,” उनले सुनाए।

राजधानीदेखि स्याङ्जाको पश्चिमी क्षेत्रमा रहेको उनको गाउँ पुग्न दिलीप पाण्डेले १० घण्टाको सडक यात्रा गर्नुपर्छ। दशैँको समयमा त्यो यात्रा अरू समयभन्दा निकै सकसपूर्ण हुने उनको अनुभव छ। सकस गाडीको टिकट पाउनैबाट सुरु हुन्छ। “एक पटक त म उभिएर र एक पटक मुढामा बसेर पनि गएको छु,” उनले सुनाए।

एकै दिनमा घर पुगिने गाउँमा दशैँको समयमा गाडी बिग्रिएका कारण एक पटक दुई दिन लागेको पाण्डे सुनाउँछन्।

दशैँमा गाउँ जान ‘मरिहत्ते’

दशैँमा छोरो आउँछ भनेर बाबुआमाको उत्साह एकदमै धेरै हुन्छ। त्यस कारण पनि दशैँमा गाउँ जान मन लाग्छ। अर्को चाहिँ अरू बेला जाँदा साथी सङ्गी भेट हुँदैन। दशैँमा आफ्नो बाल्यकालमा खेलेका सबै साथीहरू आउनुहुन्छ। उहाँहरूलाई भेट्न पाइन्छ,” स्याङ्जाका पाण्डे सुनाउँछन्।

देश विदेशमा पुगेका बालसखा र परिवारजनको पुनर्मिलनको प्रचलनका कारण पनि दशैँमा गाउँ रमाइलो हुने अनुभवीहरूको भनाइ छ। कतिपय गाउँमा स्थानीय क्लब लगायतले पुनर्मिलन र मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गर्ने गरेका छन्।

“बचपनमा खेलेका र डुलेका ठाउँहरू हामीले काठमाण्डूमा बस्दा पनि नबिर्सने रहेछौँ। आफ्ना बालसखासँग त्यही ठाउँमा जाँदा फरक किसिमको ऊर्जा मिल्छ,” पाण्डे भन्छन्।

दार्चुलामा हरेक वर्ष दशैँमा लाग्ने अष्टमीको जात्रा सङ्गीताका लागि पनि बालसखाहरू भेट्ने अवसर पनि हो।

“अरू बेला पढाइ हुन्छ लामो समय बिदा पनि पाइँदैन दशैँमा बिदा पाइन्छ छरिएर बसेका दाजु, भाइ, बहिनी र आफन्त गाउँमा पुग्छन्,” उनले सुनाइन्। दशैँमा कामबाट बिदा नपाइएका कारण उनको परिवारका सबै जना कुनै कुनै वर्ष भेला हुन पाउँदैनन्।

पहिले जस्तो छैन गाउँमा दशैँ
पहाडी गाउँहरूमा पहिलेजस्तो अहिलेको दशैँ हुने नगरेको युवाहरूको अनुभव छ।

सोलुखुम्बुको पञ्चनका निरौला आफ्नो गाउँमा रहेका ७० वटा घरधुरी अहिले ३०-३५ वटामा झरेको बताउँछन्।

“गाउँमा युवाहरू दुई चार जना भेट्न पनि गाह्रो हुन्छ सबै बूढाबूढी मात्रै हुनुहुन्छ। युवा सबै विदेसिएका छन्,” उनले सुनाए।

उनी युवाहरू नभएका कारण गाउँमा पहिलेपहिले जस्तो रौनक नभएको बताउँछन्।

उनीहरूका अनुसार गाउँमा पहिलेजस्तो दशैँमा रोटेपिङ र लिङ्गेपिङ हाल्ने चलन हराउँदै गएको छ। टिका लगाउन आफन्तहरूकहाँ धाउने चलन पनि गाउँबाट आफन्तहरू बसाइँ सरिसकेका कारण घट्दै गएको बीबीसीले कुरा गरेका नेपालको विभिन्न जिल्लाका मानिसहरूले बताए।

“आफ्नै साथी सखाहरू पनि धेरै विदेसिएका छन्। कतिले छुट्टी नपाउने, चाहेर पनि आउन नपाउने भएकाले गर्दा गाउँमा पहिले जस्तो रमाइलो परिवेश चाहिँ अहिले बन्दैन,” स्याङ्जाका पाण्डे भन्छन्।

उनका अनुसार बसाइँ सराइका कारण पनि पहाडमा दशैँको रौनक घट्दै गएको छ।

“आफ्नो मन नमानेर जाने हो। तर १०/१२ वर्ष अघि जस्तो रमाइलो अहिले हुन्न,” उनले सुनाए।

दार्चुलाकी सङ्गीता महरा भने आफ्नो गाउँमा दशैँ धेरै नफेरिएको सुनाउँछिन्।

“मलाई त दशैँ हरेक वर्ष जाँदा उस्तै लाग्छ। हाम्रोतिर भारत काम गर्न जाने चलन छ। भारत गएकाहरू दशैँमा गाउँ आउँछन् अरब र अरू-अरू देश गएकाहरू मात्रै हुन् नफर्कने,” उनले भनिन्।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु