नेपाली शब्दकोशबाट ॐ के साँच्चै हटेको हो, कसरी सुरु भयो यो विवाद

 

बिबिसी ।नेपाली भाषासँग सम्बन्धित एउटा विषयमा सात वर्षअघि परेको मुद्दाबारे अहिले निकै चर्चा भइरहेको छ। त्यस्तो चर्चा र जिज्ञासा नेपालमा वा नेपालीभाषीमा मात्र सीमित छैन।

Advertisement

कतिपयले मौलिक नेपाली भाषामा अनुचित अतिक्रमण हुँदै गएको भन्दै गर्दा २०७३ सालमा सर्वोच्च अदालतमा एउटा मुद्दा हालिएको थियो।

भाषाको कुरा कसरी पुग्यो अदालत?
यसको पृष्ठभूमि बुझ्न ११ वर्षअगाडि फर्किनुपर्ने हुन्छ।

“विसं २०६९ साउन २२ गते तात्कालिक शिक्षामन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय निर्णय गरेका थिए। त्यसमा संयुक्त अक्षरहरू हटाउने निर्णय सदर भनेर उनले लेखिदिए। त्यो निर्णय अहिलेसम्म अर्को मन्त्रीस्तरीय निर्णय गरेर उल्ट्याइएको छैन,” सो मुद्दा हाल्ने एक अभियानकर्मी तथा वकिल स्वागत नेपालले भने।

“अर्थात् कसैलाई मन लागे ॐ र श्रीजस्ता संयुक्त अक्षर राख्ने अनि मन नलाग्दा हटाउने हुन सक्छ,” उनले भने।

तिनै विषयलाई लिएर हालिएको मुद्दामा २०७३ साल भदौमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको र लगत्तै त्यसलाई अग्राधिकार दिने बताएको थियो।

तर पटकपटक मुद्दा हटाउने, स्थगित हुने गर्दै २०८० साल असोज ४ गते आएर सर्वोच्चले त्यसमा विषयविज्ञ सम्मिलित एमिकस क्युरी अर्थात् अदालतका सहयोगी झिकाउन भनेको नेपालले बताए।

त्यसपछि अहिले सामाजिक सञ्जालमा भाषाविद् एवं अन्यहरूमाझ टीकाटिप्पणी भइरहेको हो।

 

शब्दकोशमा ॐ छ कि छैन?
नेपालमा अहिले अन्य विभिन्न प्रकाशनका नेपाली शब्दकोशहरूका साथै प्रज्ञा प्रतिष्ठानको ‘नेपाली बृहत् शब्दकोश’ र वसन्तकुमार शर्म्मा ‘नेपाल’द्वारा सम्पादित ‘नेपाली शब्दसागर’ प्रचलनमा छन्।

बढी प्रचलित पछिल्ला दुईमा ॐलाई छुट्टै अक्षरका रूपमा प्रविष्टि दिएको देखिँदैन।

प्रज्ञा प्रतिष्ठानले आफ्नो शब्दकोशमा ॐ लाई ‘ओ’ वर्णअन्तर्गत ‘ओं’ लेखेर समाविष्ट गर्दै त्यसका विभिन्न अर्थहरू खुलाएको छ। त्यसअन्तर्गत एउटा अर्थमा कोष्ठकभित्र ‘ॐ’ उल्लेख गरेको छ।

प्रज्ञा प्रतिष्ठानले मोबाइल फोनमा प्रयोगकर्ताका लागि निर्माण गरेको शब्दकोशको एपमा भने ॐ लेखेर खोज्न सकिन्छ।

२,५०० वर्षपछि ‘सुल्झियो’ संस्कृत व्याकरणको नियमको अर्थ
‘युरोपेली र भारतीय भाषालाई जोड्ने माध्यम संस्कृत’
एपको वर्ण सूचीमा नदेखिए पनि ॐ लेखेर हेर्दा त्यसको अर्थ फेला पर्छ।

शब्दसागरका कोशकार नेपालले ‘ओं’ लाई ‘ओ’ को लहरमा पुछारतिर राखेका छन् र त्यसका अर्थहरू दिएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानले २०४० सालदेखि प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोशबाट ॐ नहटाइएको दाबी गर्दै प्रतिष्ठानका कुलपति भूपाल राई भन्छन्, “यसलाई हटाइएको पनि छैन र हटाउने कुनै योजना पनि छैन।”

उसोभए विवाद किन त?

प्रज्ञा प्रतिष्ठानको शब्दकोशका संस्करणहरूमा ॐले छुट्टै अक्षरका रूपमा प्रविष्टि नपाएको र त्यसलाई वर्णानुक्रममा ‘अ’ भन्दा पनि अगाडि राखिनुपर्थ्यो भन्ने तर्क केही मानिसको देखिन्छ।

यद्यपि मुद्दा हालेका वकिल स्वागत नेपाल यसलाई ॐमा मात्र सीमित विवाद नठान्न आग्रह गर्छन्। तत्सम अथवा संस्कृतबाट आएका शब्दहरूलाई ‘तत्भवीकरण’ गर्ने निर्णय धेरै अगाडिदेखि भएको उनको बुझाइ छ।

“मन्त्रीस्तरीय निर्णय अनि त्यसपछि पाठ्यक्रम विकास केन्द्रले समेत विद्यार्थीहरूले अबदेखि शङ्ख लेख्दा ङमुनि ख लेख्दा फेल गराउने अनि अङ्क लेख्दा ङको खुट्टो काटेर क लेख्दा मात्र पास गराउने भन्दै निर्देशन पनि दिएको थियो,” उनी भन्छन्।

“अन्तरिम आदेश भएपछि त्यो निर्देशन नमान्ने र पुरानै हिज्जे र वर्णविन्यासअनुसार काम गर्ने भनेर भयो। तर अदालतको अन्तिम आदेश नआउन्जेल यसमा आशङ्का रहेको छ।”

विगतमा अदालतले गाडीको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषाको लिपिमा राख्ने सन्दर्भमा अन्तरिम आदेशविपरीत अन्तिम फैसला गरेको उनले स्मरण गराए।

कोशकार के भन्छन्?
भाषाविद् हेमाङ्गराज अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा ॐसम्बन्धी विवादबारे टिप्पणी गरेका छन्।

उनी प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्दकोशका विभिन्न संस्करणको निर्माण समितिमा संलग्न थिए।

“ॐ वर्णमालाको कुन वर्ण हो? यसको स्थान कुन वर्णअघि वा पछि आउँछ होला? हाम्रो वर्णमालामा यो किन नराखिएको होला? यसको सामान्य उच्चारण ओम् हुन्छ। शब्दकोशले वर्णमाला वा उच्चारण चिन्दछ। वर्णमालामा नभएपछि उच्चारणका आधारमा यसको सूचनालाई ‘ओ’ को वर्णानुक्रममा राखियो र ॐ प्रतीक चिह्न पनि त्यहीँ दिएर त्यसको आशय स्पष्ट पारियो। के बिग्रियो?”

मातृभाषाको आकर्षण घट्नुको कारणबारे विवाद
जनमत पार्टीका तीनजना सांसदले शपथ लिएको ‘मधेशी भाषा’ के हो?

“ॐ भन्ने त अक्षर नै होइन भन्ने कतिपयको भनाइ छ। यो एकाक्षरी नभएर संयुक्त अक्षर हो। संयुक्त अक्षर भएकाले वर्णमालामा नलेखिएको र त्यहाँ नभएकाले राख्नै जरुरी छैन भन्ने तर्क छ। तर यो ॐलाई जनाउने कुनै अर्को वर्ण छैन। वास्तवमा ॐलाई छुट्ट्याउन सकिँदैन। ध्वनि छुट्ट्याउन सकिएला, वर्ण छुट्ट्याउन सकिँदैन,” उनले भने।

 

नेपाली र अन्य विभिन्न भाषाले प्रयोग गर्ने देवनागरी लिपिमा यसको वर्तमान स्वरूप ‘ॐ’ पूर्वी नागरी वा सिद्धम् नागरीबाट आएको विज्ञहरू बताउँछन्।

भाषाशास्त्रीय दृष्टिकोणबाट हेर्दा यो अ, उ र म् मिलेर बनेको संयुक्त अक्षर हो। शब्दका रूपमा यसका विभिन्न अर्थहरू छन्। हिन्दू मान्यताअनुसार ‘अ’, ‘उ’ र ‘म्‌’ लाई त्रिदेव भनिने विष्णु, शिव र ब्रह्माका सङ्केतका रूपमा पनि लिइन्छ।

ॐकारलाई प्रणव भनिन्छ। यसलाई एकाक्षरी मन्त्रका रूपमा प्रयोग गरिन्छ।

विभिन्न दक्षिण एशियाली भाषाका ज्ञाता तथा भारतीय भाषाशास्त्री प्राध्यापक सुरेश पन्त भन्छन्, “भाषाविज्ञानका अनुसार सार्थक ध्वनिहरूको समूह नै शब्द हो। ध्वनिहरू मिलेर बन्ने शब्द सार्थक हुन्छ र त्यसको एउटा स्थिर लिपिबद्ध रूप हुन्छ।”

“ॐ विभिन्न तीनवटा ध्वनिको समूह हो।”

ॐ अर्थमूलक अक्षरहरूद्वारा निर्मित सार्थक शब्द भएको र त्यसको अस्तित्व रहनुपर्ने उनको तर्क छ।

विवाद भाषिक मात्र कि धार्मिक र राजनीतिक पनि?
सर्वोच्च अदालतको पछिल्लो आदेशपश्चात् सामाजिक सञ्जालमा कतिपयले ॐसँग सम्बन्धित मुद्दालाई धर्म र राजनीतिसँग जोडेर टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा कैयौँ प्रयोगकर्ताहरूले ‘ॐ हटाउने आवश्यकता के पर्‍यो अनि यसमा कतै विदेशीहरूको उक्साहट त छैन’ भन्ने टिप्पणी गरेका छन्।

 

ॐ भाषा र व्याकरणको मात्र विषय नभएर आध्यात्मिक र धार्मिक महत्त्वको विषय भएको धेरैको बुझाइ छ।

“पूर्वीय दर्शनको प्रतिनिधित्व गर्ने ॐ सम्पूर्ण सृष्टिको समन्वयात्मक ध्वनि हो,” स्वागत नेपाल भन्छन्,” ॐ भनेको अक्षर मात्र नभएर शब्द, वाक्य अनि आफैँमा पवित्र ग्रन्थ समेत हो।”

तर प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई अहिले पुनः देखा परेको विवादलाई अस्वाभाविक मान्छन्।

“यो विवाद गर्नुपर्ने विषय नै होइन। कसैले हटाइदेला कि भन्ने अड्कलमा आधारित भएर गरिएका गतिविधि मात्र हुन्,” राईले भने।

यो विवादको जरो के हो भन्ने आफूले बुझ्न नसकेको भन्दै भाषाशास्त्री पन्त भन्छन्, “कतै यो पारम्परिक दक्षिणपन्थी विचार र प्रगतिशील वामपन्थी विचारको सङ्घर्ष त हैन?”

भाषाशास्त्री
प्राध्यापक अधिकारी ॐबारेको विवादप्रति आश्चर्य प्रकट गर्दै लेख्छन्, “कोशबाट नहटाइएको र सामान्य प्रयोगकर्ताको अनुमेयतालाई ख्याल गरी यथास्थानमा राखिएको विषयलाई धर्म राजनीतिको विषय किन बनाइँदै छ? के सय पटक झुट कुरा दोहोर्‍याएमा सत्य हुन्छ भन्ने ठानिएको हो?”

अधिकारीको पोस्टमा विभिन्न किसिमका प्रतिक्रिया आएको देखिन्छ।

आफूले सबै नेपाली शब्दकोशमा ॐ पाएको जनाउँदै बद्रीविशाल भट्टराई लेख्छन्, “संस्कृतको धेरै प्रामाणिक मानिएको र चल्तीमा आएको वामन शिवराम आप्टेको ‘संस्कृत हिन्दी कोश’ मा पनि ओम् नै प्रविष्टि दिई अर्थ खोलिएको छ।”

“… नेपाली भाषाको र नेपालमै पाइने कोश नहेरी फेसबुक मात्र हेरेर भ्रममा नपरौँ। युक्तियुक्त र प्रमाणसहित आफ्ना कुरा राखौँ।”

अधिकारीसँग तर्क गर्दै पूर्वन्यायाधीश उदय चापागाईँ लेख्छन्, “ॐको उच्चारण ओम् हुन्छ र अ+उ+म् को जोड नै ॐ हो भन्नेमा यहाँ पनि सहमत नै हुनुहुन्छ । त्यसो हुँदा शब्दकोषको पहिलो अक्षर नै ॐ कायम हुनुपर्ने देखिन्छ। सरल र सहज उपाय पनि त्यही हो।”

“वर्णमालाको हवाला दिएर र केही शब्दकोष निर्माणसम्बन्धी नियमको कुरा वा तर्क तेर्साएर ॐ शब्दलाई निषेध गर्न खोज्नु नै शङ्कास्पद क्रियाकलाप हो भन्ने आम ॐ अनुरागीहरूको बुझाइ रहेको छ। ॐ शुध्द शब्द हो। ओम् अशुध्द हो।”

“शब्दकोषमा शुद्ध शब्दले नै प्राथमिकता पाउनुपर्दछ भन्ने आम जनमानसको अठोट छ । यस्तो पवित्र आग्रहलाई राजनीतिको चस्माले वा यहाँको व्यक्तिगत रागद्वेषको चस्माले नहेरी सार्वजनिक महत्त्वको जवाफदेहिताको रूपमा बुझिदिनहुन विनम्र अनुरोध गर्दछु।”

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु