नेपालगन्ज —बडादसैंको राति टाउको काटिएको अवस्थामा फेला परेको चन्द्रबहादुर कामीको हत्याको आरोपमा ३० वर्षीय अनिल परियारलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ।
Advertisement
साविक घर्तीगाउँ रोल्पा निवासी परियारलाई अघैया–कुसुमखण्डमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले मंगलबार बिहान पक्राउ गरेको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए ।
परियारलाई पक्राउ गरिए पनि हत्याको कारण भने अझै खुल्न सकेको छैन । असोज २६ गते कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।
घटनापछि प्रहरीले निरन्तर अनुसन्धान जारी राखेपछि सोमबार मृतकको टाउको अनिल परियारको बहिनीको घरको शौचालयको सेफ्टी ट्याङकीमा फेला पारेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा विजयादशमीको दिन दिनभरसँगै रहेका अनिल परियार घटनापछि फरार भएका थिए। फरार रहेको आधारमा शङ्का गर्दै अनुसन्धान अगाडि बढाइएको थियो। परियारलाई म्याद थप गरी थप अनुसन्धानका लागि कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। ईकान्तिपुर।









