बाँके— मनसुन सकिएपछि यहाँका किसानलाई धान भित्राउन र हिउँदे बाली छर्ने चाटारो छ । मौसम सुधार भएलगत्तै किसानहरु खेतमै व्यस्त हुन थालेका छन् । पुरुषहरु हिउँदे बाली छर्नाका लागि खेत जोत्नमा व्यस्त छन् भने महिलाहरुलाई धान काट्न भ्याईनभ्याई छ । किसानहरु घरमा भन्दा पनि खेतमै भेटिने गरेका छन् ।
Advertisement
। सिंचाई सुविधा नभएको स्थानका बाँके र बर्दियाका किसान यस वर्ष समयमै बर्षा भएका कारण गत वर्ष भन्दा पहिलेनै किसानले धान रोपाई गर्न भ्याएका थिए ।
समयमै रोपाई गरिएको धान दसैं लगत्तै पाकेर तयार भएपछि किसान निकै खुसी छन् । यस वर्ष रोग, किरा नलागेका कारण धानको उत्पादन बढ्ने जिल्ला कृषि कार्यालयले जनाएको छ ।
‘रोपिएका खेतका धान पाकेर तयार भइसके । समयमै स्हार्न नसक्ने बाला भुईमा खसेर नोक्सानी व्यहोर्नु पर्ने अवस्था आएको छ,’ कम्दिका किसान रामदिप यादवले भने,‘हिउँदे बाली छार्न साँझ, बिहान खेत तयार गर्छु । दिउँसो धान काट्न खेत जान्छु । एकछिन पनि फुर्सद छैन ।’
मौसमले साथ दिएको र रोग किरा नलागेका कारण यस वर्ष जिल्लामा धान उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बाँकेमा यस वर्ष ३६ हजार ५ सय हेक्टर जमिनमा धानखेती लगाइएको छ ।
गतबर्ष ३४ हजार ६ सय ७५ हेक्टर खेतीमा धान रोपाई भएको थियो । समग्ररुपमा धानको उत्पादन बढि हुने अनुमान गरिएपनि राप्तीनदी किनाराका क्षेत्रमा भने बाढीका कारण धानबाली प्रभावित भएको छ । बर्दियामा कुल ७५ हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ । जसमा ६० हजार एकसय हेक्टर खेती गरिने कार्यालयले जनाएको छ । खेती गरिएको जमिनमध्ये ४२ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्र सिँचाईको पहुँच रहेको छ ।









