अमेरिकी घरेलु मैदानमा नेपालको शानदार जित

बिबिसि- नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार लय समाउँदै अमेरिकाविरुद्धको तीन टी-२० शृङ्खला ‘क्लिन स्विप’ गरेको छ।

नेपालले शृङ्खलाको अन्तिम खेल आठ बल बाँकी छँदै आठ विकेटले जित हासिल गरेको हो। यो अमेरिकाविरुद्ध नेपालको पहिलो क्लिन स्वीप हो।

Advertisement

पछिल्लो समय लगातार खराब समयबाट गुज्रिरहेका बेला नेपाली टोलीले यो जित प्राप्त गरेको हो।

स्थानीय समय अनुसार आइतवार राति ड्यालसको ग्रान्ड प्रेरी मैदानमा खेलिएको शृङ्खलाको अन्तिम खेलमा नेपालले पहिलो ब्याटिङ रोजेको अमेरिकालाई १५६ रनमा रोक्यो।

र जबाफमा स्तरीय ब्याटिङ प्रस्तुत गर्दै नेपालले १८.४ ओभरमा लक्ष्य पूरा गर्‍यो।

यसअघि नेपालले पहिलो खेलमा १७ रन तथा दोस्रो खेल सुपर ओभरमा जितेको थियो।

आगामी शुक्रवारबाट ड्यालसको यही मैदानमा आइसीसी विश्वकप लीग २ को खेल हुँदैछ। जहाँ नेपाल, अमेरिका र स्कटल्यान्ड खेल्दैछन्।

नेपालको जितमा बलिङतर्फ फेरि एकपटक सोमपाल कामी नायक बने भने ब्याटिङमा आशिफ शेखको अर्धशतकसहित कुशल भुर्तेल र कुशल मल्लको योगदान महत्त्वपूर्ण रह्यो।

ब्याटर हाबी
अमेरिकाको इनिङ्समा साइतेजा मुक्कामलको ६८ रनको इनिङ्स मुख्य थियो।

उनलाई आउट गरेका सोमपाल कामीले तीन विकेट लिँदै विपक्षीलाई रोक्ने काम गरे।

नेपालको इनिङ्स सुरुदेखि नै बलियो रह्यो।

पावर प्लेमा नेपालले ५४ रन बनाउन सफल भयो।

सो क्रममा ओपनरद्वय आशिफ शेख र अनिल मल्लले ३८ बल खेले। अनिल १२ रनमा आउट भएपछि आशिफले निरन्तर राम्रो ब्याटिङ गर्दै अर्धशतक पूरा गरे।

उनन्चालीस बल खेल्ने क्रममा ५ चौका र २ छक्का प्रहार गरेका आशिफ अर्धशतक बनाए लगत्तै आउट हुन पुगेका थिए।

आशिफ पछि इनिङ अगाडि बढाउने क्रममा कुशल भुर्तेलले ४० तथा कुशल मल्लले ४४ रन बनाएका थिए।

जित पछि प्लेअर अफ द म्याच भएका आशिफ शेखले भने, “मलाई खुसी छ की विश्वकप लीग-२ अगाडि हामीले यो शृङ्खला जितेका छौँ। यसले हामीमा आत्मबल बढेको छ।”

कप्तान रोहित पौडेलले भने, ” क्यानडामा हामीले राम्रो गर्न सकेका थिएनौँ। यो जितले हामीलाई खेलमा फर्काउन सहयोग गरेको छ। यो जितले हामीलाई जति मनोबल बढेको छ, त्यसलाई विश्वकपमा पनि निरन्तरता दिने प्रयास गर्नेछु। ”
विश्वकप लीग-२ पचास ओभरको एकदिवसीय क्रिकेट हो।

आठ राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपाल बलियो अवस्थामा छ भने नेपालको स्थिति कमजोर छ।

अमेरिकाले ८ खेलबाट १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेपालले पनि त्यति नै खेल खेलेको छ।

तर मात्र एक जित र वर्षाका कारण खेल नहुँदा प्राप्त १ अङ्क गरी जम्मा ३ अङ्क बटुलेको नेपाल सातौँ स्थानमा छ।

नेपालभन्दा तल यूएई छ। जसको २ अङ्क छ।

महत्त्वपूर्ण के छ भने उक्त तालिकामा शीर्ष चार स्थानमा रहन सफल टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछ भने अन्तिम दुई स्थानमा पर्ने टोली दोस्रो डिभिजनमा झर्नेछ।

यस अवस्थामा नेपालको लागि अर्को हप्ताबाट सुरु हुने चार खेल निकै महत्त्वपूर्ण देखिन्छ।

क्यानडामा भएको लीग २ मा एक खेल पनि जित्न नसकेर अमेरिका आएको टोलीलाई अमेरिकासँग पाएको यो जितले मनोबल थपिने आशा गर्न सकिन्छ।

लीग २ मा नेपाले अमेरिकासँग २ तथा स्कटल्यान्डसँग २ खेल खेल्नेछ।

जितको अर्थ

विश्वकप लीग-२ मा नेपाली टोली खराब अवस्थामा छ।

क्यानडामा खेलेका चारमध्ये तीन खेलमा नेपाल लगातार पराजित भएको थियो। एक खेल वर्षाको कारण अवरुद्ध हुँदा नेपालले कम्तीमा १ अङ्क पाएको थियो।

लीग-२ मा सहभागी ८ राष्ट्रमा नेपाल अहिले सातौँ स्थानमा खुम्चिएको छ। नेपालको जम्मा ३ अङ्क छ भने पुछारमा रहेको यूएईको २ अङ्क छ।

यस्तोमा लीगमा स्थितिमा सुधार ल्याउनका लागि अर्को साताबाट सुरु हुने चार खेल नेपालको लागि निकै महत्त्वपूर्ण देखिएको छ।

पछिल्लो लगातार पराजयपछि अमेरिकाविरुद्ध पाएको यो विजयले नेपाली खेलाडीहरूमा मनोबल बढाउनेछ।

यद्यपि लीग-२ को खेल ५० ओभरको एक दिवसीय ढाँचाको हो भने हाल नेपालले २० ओभरको शृङ्खला खेलिरहेको छ।

खेल भइरहेको ग्रान्ड प्रेरी रङ्गशाला त्यही मैदान हो जहाँ नेपालले टी-२० विश्वकप खेलेको थियो।

त्यतिबेला रङ्गशालामा उपस्थित नेपाली समर्थकका कारण नेपालको चर्चा चुलिएको थियो। लीग-२ मा पनि नेपालले समर्थकहरूको साथ पाउने देखिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु