बाँकेको जानकी गाउँपालिकाको गाउँमा बाँदर आतङ्क

 

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका बासिन्दाले बाँदरको आतङ्कका कारण अन्नबाली जोगाउन समस्या परेको गुनासो गरेका छन् । जानकी–५, गुरुवागाउँका रामकुमार यादवले भन्नुभयो, “न घर जोगाउन सकियो, न त अन्नबाली नै । यसबारे स्थानीय सरकार पूरै जानकार भए पनि रोकथाम र व्यवस्थापनमा पटक्कै चासो नदेखाउँदा गरिखान नसकिने अवस्थाको सिर्जना भएको छ ।”

Advertisement

गुरुवागाउँमा हरेक दिनजसो दुई सयको हाराहारीमा रहेका बाँदरले सताउने गरेका छन् । गाउँलेका अनुसार त्यसको सबैभन्दा बढी मारमा गरिबका झुपडी परेका छन् । यादवले गाउँको पछिल्लो अवस्थाबारे सुनाउँदै भन्नुभयो, “घरको छानामा चढेर खपडा होस् वा घर, टिन सबै बिगारिदिन्छन्, पक्की घर भएकाले त्यस्तो समस्या झेल्नु नपरे पनि झ्यालढोका खुला भएको मौका पारेर भित्र छिरेपछि बाँदरले खाद्यान्नदेखि लत्ताकपडासमेत नास पार्छन् ।”

यतिबेला धान काट्नको चटारोमा किसान छन् । किसान खेतमा गएका बेला घरमा रडाको मच्चाउने बाँदरले खेतमा मान्छे नदेखे धानमा बुर्कुसी मार्छन् । गुरुवागाउँका अगुवा किसान यादवले छिमेकका अरू गाउँमा पनि समस्या रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “धान फुलेकै बेला नोक्सान पारेका थिए, अहिले पाकेको धानमा हुलका हुल बाँदर पसेर नोक्सान पारिरहेका छन् ।”गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु