काठमाडौँ/ईकान्तिपुर — वुमेन्स साफ च्याम्पियनसिप-२०२४ मा बुधबार डिफेन्डिङ च्याम्पियन बंगलादेश र पाँच पल्टको विजेता भारत भिड्दै छन् र यो साढे एक दशक लामो इतिहास बोकेको प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा ठूलो खेल रहनेछ । प्रतियोगिताको समूह ‘ए’ को लिग चरणको अन्तिम खेलले सेमिफाइनल पुग्ने टिमको निर्णय गर्नेछ ।
Advertisement
भारत यसअघि नै अन्तिम चारमा पुगिसकेको छ । निर्णय हुन बाँकी दोस्रो टिमलाई लिएर मात्रै हो । भारतको तीन अंक छ । उसका पछाडि बंगलादेश र पाकिस्तान एक-एक अंकमा छन् । बंगलादेशले हार टार्ने हो भने उसको अगाडिको यात्रा पनि तय हुनेछ र पाकिस्तान घर फर्कने छ । नकआउट चरण पुगिसकेको भए पनि भारतले बंगलादेशविरुद्धको खेललाई सजिलो लिने छैन ।
कारण हो, भारतसामु समूह विजेता बन्ने अवसर । बंगलादेशको उद्देश्य पनि त्यही हो, समूह जित्ने । यसको अर्थ सेमिफाइनलमा सजिलो प्रतिद्वन्द्वी पाउनु पनि हो । यो भनेको सम्भवतः सेमिफाइनलमा नेपाललाई छल्नु हो । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ५–२ ले हराएको थियो । बंगलादेशले भने पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।
त्यसैले झिनो अन्तरको हारको स्थितिमा पनि बंगलादेश नै सेमिफाइनल पुग्नेछ । भारत ३–० ले बंगलादेशमाथि विजयी रहने हो भने पाकिस्तानको भाग्य खुल्न सक्छ । भारतले सन् २०१० देखि पाँच संस्करण लगातार जितेको थियो । तर सन् २०२२ मा दशरथ रंगशालामै भएको प्रतियोगितामा भने भारत सेमिफाइनलमै रोकिएको थियो ।
त्यतिबेला भारत अन्तिम चारमा नेपालसँग रोकिएको थियो । त्यस संस्करणको लिग चरणमा बंगलादेश र भारत एउटै समूहमा थिए । बंगलादेशले त्यो समूह जितेको थियो । यसक्रममा बंगलादेशले भारतमाथि ३–० को अभुतपूर्व ऐतिहासिक जितेको थियो । भारतसामु अब यही हारको बदला लिने अवसर बन्ने छ ।
तर उसलाई के पनि राम्रो थाहा छ भने आजभोलि बंगलादेशी महिला फुटबल पहिलेको तुलनामा धेरै बलियो छ । दुवै टिमका कप्तानले आफूहरू राम्रो प्रदर्शनका लागि तयार रहेको बताएका छन् । भारतकी कप्तान आशलता देवीले बंगलादेशविरुद्ध जितका लागि प्रतिबद्ध भएर खेल्ने बताएकी छिन् । अर्कोतर्फ बंगलादेशी कप्तान सबिना खातुनले पनि आफ्नो उद्देश्य समूह जित्नु नै रहेको बताएकी छिन् ।
खेल साँझ साढे पाँच बजे दशरथ रंगशालामा सुरु हुनेछ ।








