बुटवल/ईकान्तिपुर— लुम्बिनी प्रदेश सरकारमा बुधबार नियुक्त भएका तीन मन्त्रीले बिहीबारर शपथ लिएका छन् । कांग्रेसका जन्मजय तिमिल्सिनाले सामाजिक विकास, देवकरण कलवारले वन तथा वातावरण र जसपाका आदेशकुमार अग्रवालले आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरसमक्ष शपथ लिएका हुन् ।
Advertisement
उनीहरूलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार मन्त्री नियुक्त गरेका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा अझै एक मन्त्रालय रिक्त छ । मन्त्री नियुक्त भएका तिमिल्सिना बर्दिया निर्वाचन क्षेत्र नं. २(१) बाट, कलवार पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १(२)बाट र अग्रवाल बा“के निर्वाचन क्षेत्र २(२)बाट निर्वाचित भएका थिए ।
मन्त्री बनेका मध्ये कांग्रेसका तिमिल्सिना मुख्यमन्त्री आचार्यले शपथग्रहण गरेकै दिन साउन ९ गते मन्त्री बन्ने तयारीमा थिए । तर, शपथग्रहणकै समयमा उनलाई कांग्रेसले फिर्ता गरेको थियो । त्यतिबेला आर्थिक मामिला तथा योजना मन्त्री बन्ने तयारीमा रहेका तिमिल्सिना तीन महिनापछि सामाजिक विकास मन्त्री बनेका हुन् । उनलाई सामाजिक विकास मन्त्री बनाउन प्रदेश सरकारले चार दिनअघि आइतबार प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको थियो ।
सरकारको त्यही निर्णयअनुसार लुम्बिनी प्रदेशको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सामाजिक विकास मन्त्रालयमै गाभिएको छ । त्यसबाट युवा तथा खेलकुद छुट्टयाएर अर्को मन्त्रालय बनाइएको छ । त्यसमा नागरिक उन्मुक्तिका राजकुमार चौधरीलाई लैजाने कांग्रेसको तयारी भए पनि त्यो तत्कालका लागि रोकिएको छ । सरकारमा सहभागी हुने लोसपा र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद भने अझै अधुरो नै छ । लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयासमा भए पनि केन्द्रबाट लोसपालाई बनाउने दबाब बढेपछि तत्कालका लागि एक मन्त्रालय खाली नै राखिएको छ । लुम्बिनी प्रदेशका १२ मन्त्रालय मध्ये युवा तथा खेलकुद मन्त्रालय अझै खाली नै छ ।
लुम्बिनीका १२ मन्त्रालयमध्ये एमालेले मुख्यमन्त्रीसहित ५, कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ५ र सरकारलाई समर्थन गरेका ४ साना दल मध्येबाट पहिलो चरणमा २ दललाई सरकारमा सहभागी गराउने सहमति भएको थियो । साना ४ दल मध्ये एमालले पहिलो चरणमा जसपालाई मन्त्री दिएर जनमतलाई दोस्रो चरणमा दिने भएको छ ।









