बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणः न्याय माग्दै ७७ दिनदेखि आन्दोलनमा

काठमाडौँ — नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र हत्या प्रकरणमा न्याय माग्दै रुबी खानसहित ११ महिला ७७ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् । उनीहरू हातमा संविधान र न्यायको प्रतीक ‘तराजु’ बोकेर हरेक बिहान ९ बजे कलंकीबाट खाली खुट्टा हिँड्दै माइतीघरमण्डल आइपुग्छन् । माइतीघरमण्डलमा बेलुका ६ बजेसम्म बस्छन् र फर्किन्छन् । न्यायको आसमा अर्को दिन उसैगरी मण्डलमा आउँछन् ।

 

Advertisement

महिला अधिकार मञ्चकी अध्यक्ष खानले आन्दोलनको नेतृत्व गरेकी छन् । निर्मलाको हत्यासम्बन्धी मुद्दा तत्काल अदालतमा दायर गर्नुपर्ने मागसहित उनीहरू गत साउन २५ गतेदेखि निरन्तर आन्दोलनमा छन् । निर्मलाको हत्याका आरोपितहरूलाई हाजिरी जमानीमा छाडिएको र मुद्दा अदालतमा दायर गर्न सरकारसँग भएको पटक–पटकको सहमति कार्यान्वयन नभएकाले आन्दोलन गर्नुपरेको खानले बताइन् ।

‘मुद्दा अहिलेसम्म अदालत गएको छैन । जबकि सरकारसँग हाम्रो चार पटकसम्म सम्झौता भइसकेको छ,’ उनले भनिन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा यस प्रकरण छानबिन गर्न समिति बनेको थियो । समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सहमति भए पनि अहिलेसम्म नभएको उनले सुनाइन् ।

निर्मलाको २०७६ चैत १४ मा शंस्कास्पद मृत्यु भएको थियो । उनको मृत्यु प्रकरण र सम्पत्ति हिनामिनाको अनुसन्धानपछि मुख्य अभियुक्त नेपालगन्जकै बादशाह कुर्मीविरुद्ध पाँच कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरी अनुसन्धान प्रतिवेदनले निकालेको थियो । प्रहरीले बादशाहविरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रतिवेदनले करिब डेढ वर्षअघि नै निकालेको थियो ।

बादशाह कांग्रेसका प्रदेश सांसद हुन् । निर्मलाको हत्या र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाहलाई कांग्रेसले उनलाई गत साउन ९ मा लुम्बिनीमा मन्त्री बनाएको थियो । तर चर्को विरोधपछि उनले भदौ २६ मा मन्त्रीबाट राजीनामा दिएका थिए । अहिलेसम्म निर्मला हत्याका आरोपितविरुद्ध मुद्दा अदालतमा नगएकाले खान र अन्य महिला सरकारलाई दबाब दिन निरन्तर आन्दोलनमा छन् ।

‘न्यायको लडाइँ सजिलो छैन । तर हामी छोड्दैनौं । कसैले न कसैले न्यायको संघर्षको दियो बालिरहनुपर्छ,’ खान भन्छिन्, ‘नेपालमा न्यायको लडाइँ लड्न फलामको चिउरा चपाउनै पर्छ । अहिले हामीले फलामको चिउरा चपाइरहेका छौं ।’

२०६६ कात्तिकमा निर्मलाका श्रीमान् महालु कुर्मीको कालगतिले मृत्यु भएको थियो । त्यसपछि दुई छोरा १८ वर्षका रामसागर र १४ वर्षका सुरेशसँगै बस्दै आएकी उनका दुई छोराको पनि २०६८ मा २ साताकै अन्तरमा मृत्यु भएको थियो । त्यसपछि निर्मलाको घर र ४ बिघा जग्गा हडप्न गिरोह नै सक्रिय भएको थियो । निर्मलाले आफू असुरक्षित भएको भन्दै २०६८ असोज ३० मा जिल्ला प्रशासनमा उजुरी दिएकी थिइन् । २०७५ सालपछि उनी एकाएक गाउँबाट सम्पर्कविहीन बनेकी थिइन् । २०७६ चैत १४ मा भारतमा उनको मृत्यु भएको शंकास्पद सूचना प्रहरीसमक्ष पुगेको थियो ।

त्यसपछि स्थानीयको दबाबपछि २०७७ चैत २० मा खानसहितका स्थानीयले कांग्रेस नेता बादशाह कुर्मीसहित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएका थिए । त्यही जाहेरीका आधारमा गृह मन्त्रालयले गरेको छानबिनपछि बादशाहसहितका ८ जनामाथि अनुसन्धान गर्नुपर्ने प्रतिवदेन तयार भएको थियो । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु