file Photo
बर्दिया । दसैं तिहार सकिएलगत्तै यहाँका हजारौ युवाहरु काम खोज्दै भारत पलायन हुन थालेका छन् । चाडपर्वमा भरिएको गाउँ फेरि सुनसान हुन थालेको छ । धान भित्रियाई सकेर दैनिक हजार बढी युवाहरु भारत गइरहेका हुन । महिला, बालवालिका र ज्येष्ट नागरिकहरुलाई घरमै छोडेर उनीहरु हरेक वर्ष यसैगरी गाउँ छोड्ने गरेका हुन ।
Advertisement
चाडपर्व मनाउन वर्षमा एक÷दुई पल्ट फर्किन्छन् । यहाँ उद्योग तथा कलकरखाना नभएका कारण बेरोजगारी चरम छ । गाउँमा काम नपाउँदा कोही बैदेशिक रोजगारीक लागि बिदेश गएका छन् । अधिकांश युवाहरु भारत जान्छन् । भारतमा काम गर्न जाँदा राहदानी र लगानी गर्न नपर्ने भएकाले नेपाली युवाहरुको रोजगारी गन्तब्य भारत बन्न पुगेको हो । ‘दसैं, तिहार मजाले मनाइयो । थोरबहुत भएको धान भित्राइयो । अब घरमा काम छैन । त्यसैले काम गर्न भारत फर्किदै छौँ,’ बर्दिया घोडपिट्टाका एक समूह युवाहरुसंगै भारत जाँदै गरेका सुजन विकले भने,‘अब माघिमा फर्किन्छु । होईन भने खेतिको सिजनमा घर फर्किनु पर्ला ।’
उनले यसैगरी हरेक वर्ष भारतमा मजदुरी गर्न जाने र चाडपर्वका बेला फर्किने गरेको जनाए । दुई छोराछोरीको पढाई खर्च, श्रीमति र आमाबुबाको पालपोषन गर्न उनी दिल्ली, कालापहाड, सिमला र गुजरातलगायतका स्थानमा मजदुरी गर्न पुग्छन् । ‘दुई÷तीन कठ्ठा जग्गा छ । त्यसले खान पुग्दैन । मजदुरीकै भर पर्नु पर्छ । गाउँमा काम पाईदैन,’ विक भन्छन्,‘भारतमा सडक निमार्ण, पाईप खन्ने काम सहजै पाईन्छ ।’ त्यससंगै नेपालमा भन्दा भारतमा राम्रो कमाई हुने भएकाले युवाहरुको आर्कषण त्यस तर्फ बढेको हो । भारु १ सयको नेपाली १ सय ६० हुने भएकाले मजदुरीको ज्याला बढी हुन्छ । मासिक २० हजार भारु कमाई हुनसक्छ ।
अर्का युवा बिरबहादुर परियार पनि चाडपर्व मनाएर भारतमै फर्किएका छन् । उनी बढीजसो सिमला पुग्छन् । तीन÷चार महिना काम गरेर फिर्ता हुन्छन् । ‘बर्षमा तीनचार पल्ट भारत जाने र फर्किने चलिरहन्छ । १०/१२ वर्षदेखि यसै गरिरहेको छु,’ उनले भने,‘काम नगरे परिवार पाल्न सकिदैन । गाउँघरमा काम पाईदैन । त्यसैले भारतकै भर पर्ने गरेको छु ।’
बर्दियाका युवाहरु बढीजसो नेपालगन्ज नाका भएर भारत पस्छन् । बर्दियाको मुर्तिहा नाकाबाट पनि केही युवाहरु पारी जाने गरेका हुन । नेपालगन्ज नाकाबाट भारतका विभिन्न शहरमा पस्न सहज भएकाले नेपालगन्जको जमुनाहा नाका बढी प्रयोग हुने गरेको छ । नेपालगन्ज जमुनाहा नाका भएर प्रदेश लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पुर्बी जिल्लाका युवाहरु नेपालगन्ज हुँदै जाने गरेका छन् ।
नेपालगन्ज नाका भएर दैनिक हजार बढी नेपालीहरु भारत पसिरहेका छन् । उनले बाँकेका मात्र नभई बर्दिया, दांग, रुकुम र कर्णाली प्रदेशका युवाहरु धमाधम काम खोज्दै विदेश गइरहेका छन् ।
कतिपय दम्पत्ती नै कामको खोजिमा भारत हिडेका छन् । श्रीमानलाई खान पकाएर सहयोग गर्न उनीहरु काँखमा बच्चा बोकेर जाने गरेका हुन । सीमास्थित प्रहरीका अनुसार काँखमा बच्चा समाएर भारत जाने महिलाहरुको संख्या पनि उस्तै छ । दसैंतिहार सकिएलगत्तै भारत जाने नेपालीहरुको संख्या अत्याधिक बढेको हो । कर्णाली प्रदेशका कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, रुकुमका युवाहरु बढीजसो भारत जाने गरेका हुन । त्यस्तै ५ नम्बर प्रदेशका बर्दिया, बाँके लगायतका युवाहरु पनि काम खोजिमा भारत पसिरहेका छन् । भारत जाने अधिकांश युवाहरु भारतको कालापहाड, चण्डीगढ, सिमला, गुजरात, दिल्ली, पञ्जाव लगायतका शहरमा काम गर्छन् ।









