लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिक– ३, भन्सार नजिक सडकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ ग्राम ८ सय ४० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका– १३ बस्ने १९ वर्षीय निरज राना र २१ वर्षीय सुनील राना रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले से ७ प ६३५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Advertisement

यसैगरी, कैलालीकै धनगढी उपमहानगरपालिका– २, रामजानकी मन्दिरनजिकै सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम र चरेसजस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय रोशन खड्कासमेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको से ५ प ४१२६ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका– ६, पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका– ८, केर्खा टोल बस्ने भारत सिक्किम प्रान्त वतन भएका २१ वर्षीय विक्रम क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका– १७, बडुवाल टोलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम र चरेसजस्तो देखिने पदार्थ २ ग्राम २ सय २० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका– १८ बस्ने ३० वर्षीय प्रकाश चन्द र सोही नगरपालिका ४ बस्ने २४ वर्षीय सुरज नाथ रहेका छन् । अस्थायी प्रहरी पोस्ट मझगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु