ओरालो लाग्दै म्यानचेस्टर सिटी

 

एपीई/कान्तिपुर- ग्वार्डिओलाले आफ्नो प्रशिक्षक जीवनमा यसअघि कहिले पनि लगातार चार खेलको हार सामना गर्नुपरेको थिएन
लन्डन — म्यानचेस्टर सिटीले पेप ग्वार्डिओलाको नेतृत्वमा यति खराब कहिले खेलेको थिएन । न त ग्वार्डिओला आफैंले फुटबल प्रशिक्षकको भूमिकामा यति खराब समय महसुस गरेका थिए । सिटीभित्र अहिले ठूलै समस्या सिर्जना भएको छ, सबैले यस्तै महसुस गरिरहेका छन् । सिटी शनिबार मात्रै ब्राइटनको हातबाट २–१ ले पराजित रह्यो ।

Advertisement

 

यो सिटीको लगातार चौथो हार हो । यो हारले सिटी शीर्ष स्थानमा रहेको लिभरपुलसँग पाँच अंकले पछाडि रह्यो । सिटीको त्यही हारको फाइदा लिँदै लिभरपुलले एस्टन भिल्लालाई २–० ले हराएको हो ।

सन् २००६ यता सिटीले लगातार चार खेल गुमाएको यो नै पहिलो पटक हो, यदि तथ्यांकलाई पछ्याउने हो भने । यो त्यो बेलाको नतिजा भयो, जति बेला अबुधाबीले सिटीको स्वामित्व लिएकै थिएन । त्यो हारको शृंखलाको दुई वर्षपछि मात्र स्वामित्व फेरिएको हो । त्यसपछि ग्वार्डिओला पनि सिटीमा आए र म्यानचेस्टर सहरको फुटबल शक्ति समीकरण नै फेरिएको थियो ।

ग्वार्डिओला विश्व फुटबलका सबैभन्दा उत्कृष्ट प्रशिक्षकमध्ये एक हुन् । त्यसैले उनले आफ्नो प्रशिक्षक जीवनमा यसअघि कहिले पनि लगातार चार खेलको हार सामना गर्नुपरेको थिएन । सन् २००७ देखि हो, उनको असाध्यै सफल फुटबल व्यवस्थापनको जीवन सुरु भएको । सन् २०१४–२०१५ मा एउटा त्यस्तो अवसर थियो, जति बेला ग्वार्डिओलाको बायर्न म्युनिकले लगातार तीन खेल गुमाएको थियो । त्यसमध्ये एक जर्मन कप फाइनल पनि थियो ।

अनि दुई हार बुंडेसलिगाका खेल थिए । तर त्यस अगाडि नै बायर्नले लिग उपाधि जितिसकेको थियो । त्यो अर्थमा त्यस बेलाको स्थिति बेग्लै थियो । त्यसैले स्वाभाविक रूपमा ग्वार्डिओलालाई यसपल्ट सोधिएको छ, के सिटीमा उनको युगको अन्त्य हुँदै छ । दुर्लभ ढंगले लगातार चारपल्ट प्रिमियर लिग जितेपछि सिटी फिक्का भएको हो त ? यसको जवाफमा ग्वार्डिओलाले उल्टै प्रश्न गरेका छन् । उनी भन्थे, ‘यही त होला सबैले चाहेको पनि, होइन र ?’

ग्वार्डिओला थप्छन्, ‘फुटबलमा यस्तो सामान्य हो । हामीले धेरे जितिसक्यौं । म चाहन्छु, अबका खेलमा टिमका सबै खेलाडी उपलब्ध होस् ।’ तर त्यस्तो हुने भने छैन, अझ धेरै चाँडै त हुने नै छैन । स्टार सेन्टर मिडफिल्डर रोड्रीले यो सिजन नै गुमाउने छन् । भर्खरै हो, उनले बेलन डि’अर जितेको पनि । त्यति मात्र होइन, सिटीका चार प्रमुख सेन्टर ब्याक पनि घाइते छन्, रुबेन डियास, जोन स्टोन्स, म्यानुएल एकानजी र नथान एके ।

चोटकै कारण केभिन डे ब्रुएना पनि त्यस्ता छैनन्, जस्ता पहिले थिए । ‘म त्यस्तो प्रशिक्षक हुँ, जसले टिमले खेल्दा त्यसको आलोचना गर्छ । तर, अहिले मैले त्यस्तो अनुभव गरिरहेको छैन ।’ ब्राइटनविरुद्धको खेलमा पनि पहिलो हाफ सिटीकै नियन्त्रणमा थियो र उसले इर्लिङ हालान्डकै गोलले अग्रता पनि लिएको थियो । यो उनको सिजनको १२ औं लिग गोल रह्यो, यस सिजनको । तर, त्यसपछि सिटीले आफ्नो अग्रता जोगाउन सकेन, जस्तो युरोपेली च्याम्पियन्स लिगमा भएको थियो ।

स्पोर्टिङ लिस्वनविरुद्धको खेलमा सिटीले अग्रता लिएर पनि त्यसलाई गुमाएको थियो, ४–१ ले । ब्राइटनविरुद्ध पनि त्यस्तै रह्यो, जाओ पेड्रोले सुरुमा बराबरी गोल गरे, त्यसपछि म्याट ओ’रिलले निर्णायक । त्यस अगाडि सिटी प्रिमियर लिगमै टोटनहम र बर्नमाउथविरुद्ध पनि पराजित रहेको थियो । ग्वार्डिओलाका लागि यो सामान्य हो, किनभने खेलहरू एकपछि अर्को धमाधम अगाडि आउँदै गर्दा सिटीले त्यसलाई सामना गर्न सकिरहेको छैन, विशेषतः चोटग्रस्त खेलाडीका कारण ।

ग्वार्डिओला दाबी गर्छन्, ‘प्रत्येक तीन–चार दिनमा खेलेर हामी जित निकाल्न सक्दैनौं । म चाहन्छु, सबै खेलाडी टिममा फर्कन सकोस् । खेलाडीको चोटले हामीलाई गाह्रै छ ।’ सिटीलाई साँच्चै गाह्रो भएको फेरि लिभरपुलको लय पनि हो । उसले लिगका ११ खेलमध्ये ९ मा जित निकालेको छ । नयाँ प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता लिभरपुलले उच्च लय समातेको छ र उत्कृष्ट फुटबल पस्किरहेको छ । स्लट आएपछि मोहमद सलाहले पनि राम्रो गरिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु