खजुरा। बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याइँकर्ताहरु भागेको बताउनुभयो ।
“नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिज्याइँकर्ताहरु थिए । उनीहरुलाई छुट्टाछुट्टै ब्लकमा राखिएको थियो, एउटा ब्लकमा २५ जना थिए, २५ जना बाल बिज्याइँकर्तामध्ये तीन जना भागेका छन्,” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “हिजो बेलुका गणना गर्दा सबै बाल बिज्याइँकर्ताहरु थिए, आज बिहान गणना गर्दा तीन जना भागेको पाइयो ।”
प्रहरी उपरीक्षक कार्कीले उनीहरु रातिको समयमा भागेको हुन सक्ने बताउनुभयो । उहाँका अनुसार बाल सुधार गृहबाट भाग्नेमा एक जना बाँके, एक जना दाङ र एक जना प्युठानका बाल बिज्याइँकर्ता छन् ।
भागेका बाल बिज्याँकर्ताहरुको खोजिमा जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटहरु, सशस्त्र प्रहरी लगायतका सबै सुरक्षा निकायलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
“भागेकाहरुको खोजीमा जिल्लास्थित सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ, सम्भावित प्रहरी युनिटहरुमा पत्राचार समेत भएको छ,” प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो, “के कारणले गर्दा उनीहरु भागेका हुन भन्ने सम्बन्धमा अनुसन्धान सुरु गरेका छौँ ।”
नौ विगाह क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको रहेको छ । देशभरिकै कारागारमा कैदी बन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । सोही क्षेत्रीय कारागार भित्र रहने गरी नौबस्ता बाल सुधार गृह सञ्चालनमा रहेको छ । गोरखापत्र अनलाइन









