काठमाडौँ — नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी मूल्यवृद्धि फिर्ता लिइएको जानकारी गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आइतबार राति १२ बजेपछि मात्रै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लागू हुने भएको छ ।
त्यस्तै घटाइएको मूल्यबाट पर्ने नोक्सानी मूल्य स्थिरिकरण कोषबाट ब्यहोर्ने निगमले जनाएको छ । ‘नजिकिँदै गरेको चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राखी प्रधानमन्त्री पुष्पकमल दाहालबाट निर्देशन भएबमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुनेगरी हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी मूल्यवृद्धि राति १२ बजेबाट लागू हुनेगरी फिर्ता गरिएको छ’ निगमको विज्ञप्तिमा उल्लेख छ ।
Advertisement
यसअघि शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेलरमट्टितेल ६ रुपैयाँ, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाएको थियो । जुन मूल्यवृद्धि आइतबार राति १२ बजेपछि फिर्ता हुने भएको हो । मूल्यवृद्धिका कारण आइतबार काठमाडौंमा पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेलरमट्टितेल १७९ रुपैयाँ र ग्यास प्रतिसिलिण्डर २११० रुपैयाँमा बिक्री भएको छ ।









