काठमाडौँ । मंसिर १६ गते स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबार रिक्त स्थानहरुमा उम्मेदवारी दर्ता हुँदै छ । देशभरी मध्ये ४४ पदमा आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता हुन लागेको हो ।
४४ पदका लागि आइतबार नै मनोनयन दर्ता हुने छ । जसमध्ये पालिकाका प्रमुख र उपप्रमुख एकरएक, अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्षको ३४ पद रिक्त छन् । दुई वटा जिल्ला समन्वय समितिको प्रमुख पद पनि रिक्त छन् ।
Advertisement
पालिका केन्द्रमा नौ र वडा केन्द्रमा २९ गरी ३८ स्थानमा निर्वाचन अधिकृतको कार्यालयमार्फत ४२ पदको मनोनयन दर्ता हुने छ । जिल्ला समन्वय समितिको प्रमुख पदका लागि कैलाली र ओखलढुङ्गामा निर्वाचन हुने छ ।
स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ अनुसार मनोनयनपत्र दाखिला गर्दा वडाध्यक्षले एक हजार र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले एक हजार पाँच सय रुपियाँ धरौटी राख्नुपर्ने छ ।
महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट हुने छ ।









