मकवानपुर — दोस्रो संस्करणको ‘हेटौंडा रन-२०८१’ को उपाधि हेटौंडा-१४ का धावक सञ्जीव मिजारले जितेका छन् । उनले निर्धारित ५ किलोमिटर दूरी २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधिमा आफ्नो नाम लेखाएका हुन् ।
हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको दौडमा हेटौंडा–१५ का धावक निश्चल तितुङ दोस्रो भए । उनले २० मिनेट ४२ सेकेन्डमा दूरी पूरा गरे ।
Advertisement
निर्धारित दूरी २० मिनेट ५१ सेकेन्डमा पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तेस्रो भए । हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौहुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कारबाट सम्मानित भए ।
दौडको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गरे । प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौँले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरूलाई आयोजक खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए । ईकान्तिपुर ।








