लुम्बिनी प्रदेशमा जिल्ला स्वास्थ्य कार्यालयबाटै उपचार सिफारिस

बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ पहिलो संशोधन २०८१ कार्यान्वयनमा आएको छ ।

निर्देशिका कार्यान्वयनमा आएसँगै लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालय मार्फत मुटुको भल्ब फेर्ने, क्यान्सर उपचार र मिर्गौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो ।

Advertisement

 

यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्वन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताएका छन् । ‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो, अब सिफारिस लिन निर्देशनालयमा नजानुहोला । सबै काम जिल्ला तहबाटै हुन्छ’ उनले भने ।

कतिपय बिरामीका आफन्तहरु झुक्किएर अहिले पनि स्वास्थ्य निर्देशनालय जाने गरेका छन् । तर, स्वास्थ्य उपचार विशेष आर्थिक सुविधाका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न सुरु गरिएको स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी दिए । ‘कतिपय स्थानीय तहले सोझै प्रदेश स्वास्थ्य निर्देशनालयमा सिफारिस पत्र पठाउने गर्नु भएको छ । अब निर्देशनालय होइन, स्वास्थ्य कार्यालयमा स्थानीय तहले पत्र पठाउनुपर्ने हुन्छ’ निर्देशक डा.गिरीले भने, ‘बिरामीका आफन्तहरु अलमलमा पर्नु भएन, अब सिधै जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट सिफारिस हुन्छ ।’

लुम्बिनी प्रदेश सरकारले मुटुको भल्ब फेर्न, क्यान्सरको उपचार र मिर्गौला प्रत्यारोपणका लागि प्रतिबिरामी दुई लाख रुपैयाँ स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रदान गर्दै आएको छ । अनलाईन खबर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु