पाटेबाघको छालासहित एक पक्राउ

नारद कोहार

तौलिहवा(कपिलबस्तु) । कपिलबस्तुमा पाटेबाघको छाला (अखेटो पहार) सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदै छ भन्ने विशेष सूचनाकाे आधारमा भट्टराईलाई पक्राउ गरिएको हाे ।

Advertisement

सादा पोशाकमा खटेका प्रहरी टोली करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडी बिहार बरण्डामा शंकास्पद अवस्थामा उभिएका रुपन्देही बुटवल उप महानगरपालिका-५ गोलपार्क बस्ने ४१ वर्षीया बिष्णु प्रसाद भट्टराई पक्राउ परेका हुन् ।

खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जङ्गली जनावर पाटे बाघको छाला बोराभित्र भेटिएकाे प्रहरी नायब उपरिक्षक अधिकारीले बताउनुभयो ।

उक्त छाला टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाई भएको, पुच्छरको भाग २ फिट २ ईन्च लम्बाई भएको चार वटा दाह्रा, चारै खुट्टाको पंजाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको प्रहरीले जनाएको छ । बरामद वन्य जन्तुको छाला, लु. ५८ प. ९७५५ नम्वरको मोटरसाईकलसहित भट्टराईलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु