फोहोर फाल्ने मेडिकललाई पाँच हजार जरिवाना

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।

सो क्रममा मङ्गलबार बिहान पनि सडकमै स्वास्थ्यजन्य फोहोर फालेपछि नेपालगन्जको एक मेडिकललाई पाँच हजार रुपियाँ नगद जरिवाना गराइएको छ ।

Advertisement

भेरी अस्पताल अगाडि रहेको अङ्कित मेडिकल हल तथा अङ्कित अल्ट्रासाउन्डले सडकमा यत्रतत्र फोहोर फालेको पाइएपछि पाँच हजार रुपियाँ जरिवाना गरिएको नेपालगन्ज उपमहानगरका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले बताउनुभयो ।

स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि ‘नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम पाँच हजार रुपियाँ जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताउनुभयो ।

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाको टोली अनुगमनमा गएको बेला सो फोहोर भेटिएको थियो ।

यसअघि पनि एक साताअघि मात्र नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फालेपछि नेपालगन्जस्थित आशीर्वाद पेन्ट्स प्रालिलाई १० हजार रुपियाँ जरिवाना गरेको थियो ।

नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रवर्धन गर्दैआएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय फोहोर जथाभावी फाल्नेलाई कारबाही गर्दै आएको नेपालगन्जका मेयर प्रशान्त बिष्टले बताउनुभयो ।

उहाँले जथाभाबी फोहोर फाल्नेलाई कुनै पनि हालतमा नछाडिने र कडा कारबाही गरिने उल्लेख गर्दै फोहोरविरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताउनुभयो । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु