भीमादमा इलाका प्रशासन कार्यालय राख्न माग

 

तनहुँ । तनहुँको भीमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्लाबासीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।

Advertisement

तनहुँका संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरु सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएका हुन् ।

तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको नेतृत्वमा तनहुँका जनप्रतिनिधि एंव राजनीतिक दलका प्रमुखको प्रतिनिधि मण्डलले गृहमन्त्री लेखकलाई भेटी इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो ।

तनहुँको दक्षिणी तथा पश्चिम भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरिएको थियो । जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरी सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो ।

तनहुँमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन टाढा धाउनु पर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि गृहमन्त्रीलाई भेट गरिएको सांसद भण्डारीले बताउनुभयो ।

भेटमा गृहमन्त्री लेखकले यसबारेमा थप छलफल गरी मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । त्यस्तै, सो प्रतिनिधि मण्डलले सङ्घीय सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटी भिमाद अस्पतालको भवन निर्माणको समस्या समाधान तथा जीपी कोइराला तथा अन्य आधारभूत अस्पतालको स्तरवृद्धि सम्बन्धमा छलफल गरेको छ ।
गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु