लुम्बिनी प्रदेशमा बिषादी सचेतना अभियान संञ्चालन

नेपालगन्ज, १८ मंसिर मंगलबार २०८१
लुम्बिनी प्रदेशमा बिषादीको प्रयोग न्यनिकरण गर्नका लागि मंगलबारबाट प्रदेशभरि बिषादी सचेतना अभियानको शुभारम्भ गरिएको छ । बाँकेमा जिल्ला स्थित प्रदेश स्तरका कृषि कार्यालयहरुको आयोजनामा खजुराको कृषि व्यवासाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रको हलमा एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको छ । “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो पटक कृषि मन्त्रालयले प्रदेशका १२ वटै जिल्लामा १० दिनसम्म सचेतना अभियान सञ्चालन गर्न लागिएको हो । अहिले रसायनिक बिषादीको प्रयोग एकदमै बढ्दो छ, जसले मानव लगायत् जिवजन्तु र बाताबरणमा समेत नकारात्मक असर पार्ने भएकाले प्रदेश भरि सचेतनामुलक अभियान संञ्चालन गरिएको कृषि बिकास निर्देशनालय लुम्बिनी प्रदेशका महानिर्देशक याम नरायण देवकोटाले बताए । उनले भने, “पछिल्लो समय रसायनिक बिषादीको प्रयोग अत्याधिक छ, जानेर वा नजानेर बालीनालीमा किसानहरुले अत्यधिक रासायनिक विषादीको प्रयोग गर्ने गरेका छन् ।, जसबाट सबै भन्दा बढी किसानहरु नै जोखिममा पर्ने गरेका छन् । ” बिषादीको प्रयोगले मानवसंगै जिवजन्तु र बाताबरणमा समेत असर पर्ने गर्दछ । अहिले सबैभन्दा बढी तरकारी बाली उत्पादन गर्दा किसानहरु रसायनिक बिषादीको प्रयोग गर्ने गरेको छन्” महानिर्देशक देवकोटाले भने , “रासायनिक विषादीको अत्यधिक प्रयोग र दुरुपयोगबाट किसान तथा उपभोक्तालाई सचेतना जगाई, यसबाट हुने जोखिमलाई न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले विषादी सचेतना अभियान सुरु गरेको छ ।”

Advertisement

कृषि मन्त्रालयले बाँकेबाट यो कार्यक्रमको औपचारिक रूपमा सुरुआत गरिएता पनि हरेक जिल्लामा सम्बन्धित सरोकारवाला कार्यालयबाट वर्षैभर, यो कार्यक्रम सञ्चालन गरिने निर्देशनालयले जनाएको छ । अहिलेको बढ्दो रासायनिक विषादीको प्रयोग, यसबाट मानव स्वास्थ्यमा हुने गम्भीर जोखिमलाई न्यूनीकरण गर्दै विकल्पसहितको सचेतना कार्यक्रम सुरुवात् गरिएको छ । हरेक सरोकारवालासँग भेटघाट, छलफल, विद्यालयका विद्यार्थीमार्फत सचेतना कार्यक्रम लगायत गरेर व्यापक रूपमा जनचेतना फैलाउने अभियान सुरु गरिएको निर्देशनालयले जनाएको छ ।
कार्यक्रममा कृषि विकास निर्देशनालय लुम्बिनीका वरिष्ठ बाली संरक्षण अधिकृत मिलन गैरेले लुम्बिनी प्रदेशमा जीवनाशक विषादीको प्रयोग र विषादी सचेतना अभियान विषयका बारेमा कार्यपत्र प्रस्तुत गरी सहजीकरण गरेको थिए । उनले, तथ्याङ्क अनुसार हरेक वर्ष विषादीको आयात बढेको र अत्यधिक प्रयोग पनि हुने गरेको पाइएको बताए । पहाडीको भन्दा तराईका जिल्लामा विषादीको प्रयोग बढी हुने गरेको उनले बताए । विषादीको सुरक्षित प्रयोग सम्बन्धी ज्ञान नहुनु, जानकार किसान पनि लापरबाही गर्नु, वैकल्पिक विधिका बारेमा ज्ञान नहुनु, भारतीय विषादी र बीउबिजनको बढी विश्वास गर्नु, सबै विषादीलाई कक्टेलका रूपमा प्रयोग गर्नु, पर्खनुपर्ने अवधिबारे प्रायः किसानलाई जानकारी नहुनु, रासायनिक विषादीको विकल्प सहज रूपमा उपलब्ध नहुनु लगायतका कारणले उपभोक्त र प्रयोगकर्ता बढी जोखिममा पर्ने गरेकाछन् ।
कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र खजुराका निमित्त प्रमुख श्रीधर ज्ञवालीले रासायनिक विषादीलाई नियन्त्रण गर्नका लागि किसानलाई रोग किराको बारेमा तालिम दिँदा रासायनिक विषादीको कम प्रयोग र सुरक्षित रहने गरी चेतना जगाउने गरी तालिम सञ्चालन गरिने प्रतिबद्धता जनाए । कार्यक्रममा जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख मनोज मण्डलले स्थानीय किसानहरु बिषादीको प्रयोग गर्दा एकदमै असाबधानीका साथ प्रयोग गर्ने गरेको बताए । यसबारेमा एकदमै गहिरिएर सोच्नु पर्ने बेला आएको उनले बताए । बाली संरक्षण प्रयोगशाला, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र, बिउँ बिजन प्रयोगशाला, मल तथा माटो परीक्षण प्रयोगशाला खजुरा र कृषि ज्ञान केन्द्र बाँकेको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको संञ्चालन बाली संरक्षण प्रयोगशाला खजुराका कृषि अधिकृत तथा सुचना अधिकारी एलिजा श्रेष्ठले गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु