काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली ले भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सुन, चाँदी र नगदसहित सुर्खेतको चौकुनी गाउँपालिकाका तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार छन् ।
Advertisement
शनिबार साँझ एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको सशस्त्रका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँ बराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडासहित नियन्त्रणमा लिएको छ ।
उल्लेखित सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।









