सुदूरपश्चिम रोयल्सको विजययात्रामा विराम, चितवन राइनोजले ३३ रनले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार खेलिएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । यो नतिजासँगै सुदूरपश्चिम रोयल्सको विजययात्रामा विराम लागेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती ब्याटिङको निर्णय लिएको चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । जवाफमा सुदूरपश्चिम रोयल्सले भने १८.२ ओभरमा अलआउट हुनुअघि एक सय ३१ रनमात्र बनाउन सक्यो ।

Advertisement

हालसम्म चार खेल खेलेको चितवन राइनोजको यो तेस्रो जित हो । एक खेलमा भने चितवन राइनोज पराजित भएको थियो । चार खेल खेलेको सुदूरपश्चिम रोयल्सको यो पहिलो हार हो । सुदूरपश्चिम रोयल्स यसअघि लगातार तीन खेलमा विजयी भएको थियो ।

आइतबारको खेलमा सुदूरपश्चिम रोयल्सका माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । छैटौँ नम्बरका ब्याट्सम्यान ईशान पाण्डेले टोलीका लागि सर्वाधिक ३५ रन बनाए । उनले २८ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

ओपनर सेफ अली जेब १८ रन बनाउँदै आउट भए । उनले ११ बलमा तीन चौका प्रहार गरे । अर्का ओपनर विनोद भण्डारी पनि १० रनमै पेभेलियन फर्किए । उनले आठ बलको सामना गरी दुईवटा चौका हिर्काएका थिए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका ब्रान्डन म्याकमलेन पनि नौ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै पेभेलियन फर्किए । चौथो नम्बरका ब्याट्सम्यान दीपेन्द्र बाजवा पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १६ बलमा एक चौका प्रहार गरे ।

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ शेख पनि चार रनमै आउट भए । सातौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान दीपेन्द्रसिंह ऐरी पनि दुई बलमा एक रन बनाउँदै पेभेलियन फर्किए । आठौँ नम्बरका ब्याट्सम्यान नरेश बुढाऐरले पाँच रन बटुले ।

नरेन साउदले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए । नवौँ नम्बरका ब्याट्सम्यान स्कट कुगेलियनले १६ रन जोडे । उनले १० बलमा तीन चौका पनि हिर्काए । अविनाश बोहरा शून्य रनमा अविजित रहे ।

सुदूरपश्चिम रोयल्सले अतिरिक्त रुपमा सात रन पायो । चितवन राइनोजका बलर जन निकोल लफ्टी एल्टन, अमर रौतेला, कप्तान कुशल मल्ल र रिजन ढकालले दुई–दुई विकेट लिए । सोहेल तनवीर र रञ्जित कुमारले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि, चितवनका लागि हसन ईशाखिलले अर्धशतकीय योगदान गरेका थिए । अफगानिस्तानका १८ वर्षीय ब्याट्सम्यान हसन ईशाखिलले ६५ रन बनाए । ओपनर ब्याट्सम्यानको भूमिकामा क्रिज समाल्न आएका उनले केवल ५२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए ।

चितवन राइनोजले १७ रनको कुल स्कोरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । ओपनर सन्तोष कार्की सात बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै पेभेलियन फर्किएका थिए । त्यसपछि हसन ईशाखिल र विकेटकिपर ब्याट्सम्यान विपिन रावलले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।

विपिन रावल १७ रन बनाउँदै पेभेलियन फर्किए । उनले २० बलमा दुई चौका पनि हिर्काए । कप्तान कुशल मल्लले पनि टोलीको खातामा १३ रन थपे । उनले १६ बलमा एक चौका पनि हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रवी बोपराले पनि ३६ रनको योगदान गरे ।

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका बोपराले केवल १८ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । जन निकोल लफ्टी दुई रनमा र अमर रौतेला ६ रनमा अविजित रहे । चितवन राइनोजले अतिरिक्त रुपमा १६ रन पायो । सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलियनले दुई तथा ब्रान्डन म्याकमलेन, दीपेन्द्रसिंह ऐरी, सेफ अली जेबले एक–एक विकेट लिए ।

सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमा विटानगर किङ्सलाई ९० रनले हराएको थियो । सुदूरपश्चिम रोयल्सले आफ्नो दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले र तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले हराएको थियो ।

यसैगरी, चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो । चितवन राइनोजले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । आफ्नो तेस्रो खेलमा भने चितवन राइनोज कर्णाली याक्ससँग ६ विकेटले पराजित भएको थियो ।

जारी एनपीएलमा हालसम्म चार खेल खेलेको जनकपुर बोल्ट्स आठ अंकसहित तालिकाको पहिलो स्थानमा छ । चार खेल खेलेको सुदूरपश्चिम रोयल्स ६ अंकसहित दोस्रो, चार खेल खेलेको चितवन राइनोज ६ अंकसहित तेस्रो र चार खेल खेलेको कर्णाली याक्स चार अंकसहित चौथो स्थानमा छन् ।

यसैगरी, तीन खेल खेलेको पोखरा एभेन्जर्स दुई अंकसहित तालिकाको पाँचौँ, तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकसहित छैटौँ, चार खेल खेलेको विराटनगर किङ्स दुई अंकसहित सातौँ र चार खेल खेलेको लुम्बिनी लायन्स शून्य अंकसहित आठौँ स्थानमा आसीन छन् ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु