रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

काठमाडौँ /ईकान्तिपुर— लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अन्ततः पहिलो विजय हात पारेको छ । कप्तान रोहित पौडेलले फेरि एउटा सानदार इनिङ्स खेल्नुका साथै अलराउन्ड प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गर्‍यो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितको नेतृत्वमा रहेको लुम्बिनी पहिलो चार खेलमै पराजित भएको थियो । प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ५७ बलमा ८० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६७ रन बनाएको थियो ।

Advertisement

जवाफमा आएको चितवनले ८ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सक्यो । पाचौं खेलमा चितवनको यो दोस्रो पराजय हो । ३ खेल जितेको तेस्रो स्थानमा छ । जनकपुर बोल्ट्सले सवै चार खेल जितेर शीर्ष स्थानमा छ भने सुदूरपश्चिम ४ खेलमा ३ मा विजय हात पारि चितवनभन्दा रनरेटमा अगाडि छ ।

रोहितले ४ विकेट लिँदै चितवनलाई सानो स्कोरमा खुम्च्याउन प्रमुख भुमिका खेले । उनले ४ ओभरमा १७ रनमात्र खर्चेका थिए । प्लेयर अफ द म्याच रोहितले विपिन रावल (५), तेस्रो नम्बरमा पठाइएका सोहेल तनवीर (१), रवि बोपारा (१२) र यान निकोलस लफ्टी इटन (६) को विकेट लिएका थिए । रामोन सिमान्ड्सले ४ ओभरमा २२ रन खर्चेर २ तथा साद बिन जाफर र अभिशेष गौतमले १–१ विकेट लिए ।

लुक बेन्केन्स्टेनले चितवनबाट सर्वाधिक ३१ रन बनाए । उनले २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । कप्तान कुशल मल्ल १७ बल खेलि समान १ चौका र छक्कासहित २० र सन्तोष कार्की ८ बलमा २ चौका प्रहार गरि १० रनमा आउट भए । रिजन ढकाल १४ बलमा १ चौका प्रहार गरि १५ र नरबहादुर शार्की १२ बल खेली समान १ चौका र १ छक्का प्रहार गरी अविजित २२ रन बनाए ।

यसअघि प्रतियोगिताको सर्वाधिक रनकर्ता रोहितले ६ चौका र ५ छक्का प्रहार गर्दै क्यानडाका पूर्व कप्तान जाफरसँग पाँचौं विकेटका लागि ७० बलमा १ सय १४ रनको साझेदारी गरेका थिए । रोहित २० औं ओभरको तेस्रो बलमा आउट भएका थिए । त्यसपछि आएका सन्दीप जोराले पहिलो बलमा चौका प्रहार गरे पनि अर्को दुई बलमा बिट भएका थिए । इनिङ्सको अन्तिम ओभरमा रनआउट भएका जाफरले ३५ बल खेली ४ चौका र १ छक्कासहित ५२ रन बनाए ।

रिजनले चितवनलाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । खेलको दोस्रो ओभर एवंम आफ्नो पहिलो ओभरमा देव्रेहाते तीव्र बलर उनले आशुतोष घिरोहियालाई १ र उनमुक्त चन्दलाई शून्यमा बोल्ड गरेका थिए । अर्जुन साउद १२ बलमा १५ र टम मुर्स ५ बलमा १० रन बनाई आउट भएका थिए ।

रिजनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । कप्तान कुशल मल्लले ४ ओभरमा ४२ र रन्जित कुमारले ४ ओभरमा २६ रन खर्चेर १–१ विकेट लिए । पाकिस्तानी भेट्रान तीब्र बलर सोहेल तनवीरले ४ ओभरमा २७ रनमात्र खर्चे पनि कुनै विकेट लिन सकेनन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु