बीबीसी न्यूज- अमेरिकाको विस्कन्सिन राज्यस्थित एउटा निजी क्रिश्चन विद्यालयमा एक जना विद्यार्थीले गोली चलाउँदा एक शिक्षक र एक विद्यार्थी मारिएका छन् भने ६ जना घाइते भएका छन्
म्याडिसनका प्रहरी प्रमुख सन बार्न्सले हमलाकारी १५ वर्षीया किशोरी रहेको बताए।
Advertisement
अधिकारीहरूले ती आक्रमणकारी गोली चलाउनुअघि अबन्डेन्ट लाइफ क्रिश्चन स्कुलमा उपस्थित रहेको र उनको शव घटनास्थलमा नै फेला परेको बताएका छन्। घाइते ६ जना विद्यार्थीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
“आजको दिन म्याडिशनका लागि मात्र नभएर हाम्रो देशकै लागि दुःखको दिन हो,” प्रमुख बार्न्सले भने।
उनका अनुसार प्रहरीले गोली प्रहार गर्नुको उद्देश्य पत्ता लगाउन सकेको छैन र हमलामा संलग्न रहेको ठानिएका व्यक्तिका परिवारले प्रहरीलाई अनुसन्धानमा सघाइरहेका छन्।
प्रहरी अनुसन्धान कहाँ पुग्यो?
अधिकारीहरूले क्रिश्चन स्कुलमा एक बन्दुक हमलाकारी रहेको खबर ९११ टेलिफोन नम्बरमा आएको जानकारी मार्फत पाएका थिए। स्थानीय समय अनुसार ११ बजे उनीहरूले त्यसमा प्रतिक्रिया जनाएका थिए। हमलाकारी गोलीकान्डअघि उक्त विद्यालयमा नै अध्ययन गर्ने गरेको प्रहरी प्रमुख बार्न्सले बताए।
उक्त गोली प्रहारको घटना एक ठाउँमा नै सीमित रहेको थियो तर त्यो कक्षा कोठामा थियो वा ‘हल-वे’मा थियो प्रस्ट भइसकेको छैन।
उक्त विद्यालयकी सम्पर्क निर्देशक बार्बरा विअर्सले विद्यालयले यसै वर्ष सक्रिय बन्दुक हमलाकारीसँग जुझ्नेबारे एउटा तालिम आयोजना गरेको र सोमबारको घटनाहुँदा त्यसलाई शिक्षकहरूले व्यवहारमा लागु गर्न सकेको बताइन्।
उनका अनुसार विद्यालयमा निश्चित प्रहरी अधिकारी तोकिएको छैन। त्यस्ता अधिकारीलाई विद्यालय स्रोत व्यक्ति भन्ने गरिन्छ। तर विद्यालयका सबै कक्षा कोठाहरू स्वचालित ढङ्गले बन्द हुन्छन् र परिसरमा प्रवेश गर्न चाहने व्यक्तिले घण्टी बजाएर प्रमुख द्वारबाट भित्र जानुपर्छ।
हमलाको समयमा कक्षामा पढाइरहेकी विअर्सले विद्यार्थीहरूले उक्त परिस्थितिको ‘गज्जब’ले सामना गरेको बताइन्।
“उनीहरू प्रस्ट रूपमा डराएका थिए। जब उनीहरूले ‘लकडाउन,’ ‘लकडाउन’ बाहेक केही पनि सुनेनन्, उनीहरूलाई थाहा थियो कि यो वास्तविक हो।”
प्रहरी प्रमुख बार्न्सले हमलकारीको नाम नाटाली रुपनाउ भएको र उनी समान्था पनि भनेर चिनिने जनाए। आफैँले प्रहार गरेको गोलीको चोटबाट उनको मृत्यु भएको विश्वास गरिएको प्रहरीको भनाइ छ।
बार्न्सले कक्षा दुईमा पढ्ने एक विद्यार्थीले पहिलो पटक हमलाबारे जानकारी दिँदै फोन गरेको बताए।
अमेरिकामा बन्दुक आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको आशङ्का
प्रहरीले आफूहरू घटनास्थलमा पुग्दा हमलाकारी मृत अवस्थामा फेला पारेको जनाएका छन्। हमलाकारीको साथबाट ‘ह्यन्ड गन’ फेला परेको छ। कुनै पनि सुरक्षा अधिकारीले गोली नचलाएको प्रहरीको भनाइ छ।
अधिकारीहरूले उक्त आक्रमण देख्ने वा त्यसबारे सुन्ने व्यक्तिहरूलाई प्रहरीसँग आएर कुरा गर्न अनुरोध गरेका छन्। त्यसबाट हमलाकारीको उद्देश्य थाहा हुनसक्ने उनीहरूको अपेक्षा छ।
“हामी हतारमा यो काम गर्न चाहँदैनौँ। हामी विद्यार्थीहरूलाई पनि सोध्छौँ। तर हामी उनीहरू तयार भएपछि हामी समक्ष आएर कुरा गर्ने अवसर दिन चाहन्छौँ।”
उनले उक्त भवनका ‘प्रत्येक बालबालिका पीडित भएको र सधैँ पीडित नै भइरहने’ बताए।
घटनास्थलमा अग्नि नियन्त्रण टोलीसहित १५ वटा एम्बुलेन्स पनि पुगेका थिए। एफबीआई र अन्य सङ्घीय र स्थानीय कानुन कार्यान्वयन निकायका अधिकारीहरू पनि हाइस्कूलसम्म अध्यापन हुने ४०० जना विद्यार्थी रहेको उक्त विद्यालयमा आपत्कालीन उद्धारमा खटिएका थिए।
तस्बिरको क्याप्शन,उक्त विद्यालयमा शिशु कक्षादेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थी अध्ययनरत थिए
विस्कन्सिनका गभर्नरले आफूले परिस्थिति नजिकबाट अनुगमन गरिरहेको र सबैका लागि प्रार्थना गरिरहेको बताएका छन्। राज्यका भवनहरूमा झन्डा आधा झुकाउन भनिएको छ।
के-१२ भायोलेन्स प्रोजेक्ट नामक एउटा गैरनाफामुलक अनुसन्धान अभियानले यो वर्ष मात्र ३०० भन्दा बढी गोलीकान्डका घटना भएको गणना गरेको छ। यसमा बन्दुक प्रदर्शन गरिएका वा गोली प्रहार गरिएका र विद्यालयको सम्पत्तिमा गोली प्रहार गरिएका घटना समावेश छन्।
एजुकेशन विक नामक समाचार संस्थाका अनुसार यस वर्ष अमेरिकामा यो वर्ष ३८ वटा गोलीकान्डमा विद्यार्थीहरूको मृत्यु भएको वा घाइते भएका घटना भएका छन्।
महिलाहरू सामूहिक गोलीकान्डमा संलग्न भएको खासै पाइदैन। अझ त्यसमा महिला हमलाकारीले विद्यालयमा आक्रमण गर्नु अझ कम हुने घटनामा पर्छन्।









