चार लाख ६० हजार एचपीभी खोप नेपाल आइपुग्यो

काठमाडौं । किशोरीलाई निःशुल्क लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप आउन सुरु भएको छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन इकाई प्रमुख सञ्जीव कट्टेल अनुसार आगामी माघ २२ देखि सुरु हुन लागेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियानका लागि पहिलो चरणमा चार लाख ६० हजारभन्दा बढी खोप आइपुगेको हो ।

Advertisement

कट्टेलले यो अभियानका कूल १७ लाख ७० हजार २० भाइल खोपमध्ये पहिलो चरणमा चार लाख ६० हजार ९४० एचपीभी खोप नेपाल आइपुगेको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी खोप आगामी जनवरी १० भित्र आउने तालिका तय भएको छ । आइसकेका खोपहरुलाई प्रदेशस्थित आपूर्तिकेन्द्रहरुमा पठाउने उहाँले जानकारी दिनुभयो ।

चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्ड एचपीभी खोप ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) को सहयोगमा आएको हो ।

सरकारले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म अभियानका रुपमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क एचपीभी खोप लगाउने लक्ष्य लिएको छ । नेपालमा वार्षिक करीव दुई हजार नेपाली महिलाको ज्यान पाठेघरको मुखको क्यान्सरबाट जाने विभिन्न अध्ययनले देखाएको छ । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु