रिगलको आममाफीविरुद्ध सर्बोच्चमा रिट, पीडित परिवार सत्यग्राहमा

काठमाडौँ — खुँडाले मान्छे काटेबापत जन्मकैदको सजाय पाएका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध पीडित परिवार सर्वोच्च अदालत पुगेको छ । राष्ट्रपतिद्वारा आममाफी पाएपछि हत्याका मुख्य योजनाकार मानिएका रिगल भनिने योगराज ढकालको अबिर जात्रा भएको थियो ।

संविधानको गम्भीर उल्लंघन हुँदा तत्काल गर्नुपर्ने रिटमाथिको सुनुवाइ भने न्यायाधीश अभावमा लगातार दोस्रो दिन पनि हुन सकेन । हत्या गरिएका नेपालगन्जका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले आममाफी खारेज हुनुपर्ने र हत्यामा अदालतद्वारा दोषी ठहर गरिएका ढकाल बाँकी कैद भुक्तानीका लागि पुनः जेलमै राखिनुपर्ने माग गर्दै आइतबार रिट दायर गरेकी ईकान्तिपुरले जनाएको छ ।

Advertisement

 

सोमबार उक्त रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको थियो । तर, उनको इजलासमा तोकिएका १३ मुद्दाको अन्तिम सूचीमा पेसी चढेकाले पालो आएन । मंगलबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएका २९ मुद्दामध्ये शेर्पाको रिट २२ औं नम्बरमा पेसी चढेको थियो । गम्भीर महत्त्वको मुद्दामा तुरुन्त सुनुवाइ हुने अपेक्षाविपरीत मुद्दाहरू पेसीमा चढ्दै सर्दै गरेको देखेपछि पीडित परिवार निराश बनेका छन् ।

अब न्यायका लागि बुधबारबाट माइतीघरमा सत्याग्रहमा बस्ने भारतीले बताइन् । ‘राज्यबाटै अपराधीलाई आममाफी दिएर कानुनी शासनको उपहास भएको छ,’ उनले भनिन्, ‘पीडित परिवारलाई थप पीडा दिएकाले विरोधस्वरूप रिले अनशनमा बस्ने निर्णयमा पुगेका हौं ।’

देश चलाउने नेताहरूले गुन्डाको संरक्षण गर्दा पतिको हत्यारालाई आममाफी मिलेको र त्यसले गर्दा आफूहरू असुरक्षित बन्न पुगेको उनको भनाइ छ । ‘अपराधी छुटेको छ,’ भारती भन्छिन्, ‘आफूलाई पनि मार्ला भन्ने त्रासले कोही बोल्न सकिरहेका छैनन्, तर न्यायका लागि कसैको साथ नपाए म एक्लै लडिरहन्छु ।’

उनका पति चेतनलाई २०७२ असार २८ गते नेपालगन्जको धम्बोझी चोकमा ढकाल र उनको समूहले खुँडा प्रहार गरी हत्या गरेको थियो । ढकाल तरुण दल बाँके–३ का तत्कालीन सभापति थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु