जमिनमुनिबाट सुन निकालिदिने भन्दै नेपालगन्जका बेहनाबाट दुई करोड ठगी गर्ने भारतीय नागरिक पक्राउ

 

नेपालगन्ज। जमिनमुनि धेरै सुन देखिएको र त्यसलाई निकाल्न भन्दै पटक–पटक गरी नेपालगन्ज १९ का नसिर अहमद बेहनाबाट दुई करोड ठगी गर्ने भारतको बलरामपुरस्थित सिंहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपी आयुषप्रसाद जोशीका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मोहनपुर इँटाभट्टा नजिकैको जमिनबाट सुन निकालिदिन्छु भनेर ठगी गरेको उजुरीको आधारमा भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

भारतीय नागरिक हलवाईलाई नेपालगन्ज वडा नम्बर ४ स्थित बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी जोशीले जानकारी दिए । उनका अनुसार हलवाईलाई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

पक्राउ परेका हलवाईबाट एक हजार ४९ वटा पहेँलो सिक्का, तिन वटा माटोको घैँटो, तीन वटा पितलको घैँटो, धातुले बनेको एउटा चेन, धातुले बनेको एउटा गणेशको मूर्ति, विभिन्न आकार प्रकारका ६०० भन्दा बढी पत्थर, तीन वटा धातुले बनेको डिब्बा, ताविजसहितको एक डिब्बा, उर्दू अक्षरमा लेखिएको किताब एउटा, भारतीय नम्बरको युपी ३२ पीपी ६११० नम्बरको कार र नेपाल तथा भारतीय बैङ्कका चेक तथा भौचरहरू बरामद भएको प्रहरीले जनाएको छ ।

जमिनमुनि सुनले भरिएको भाँडो गाडिएको देखिएको जनाउँदै विभिन्न व्यक्तिले सो निकालिदिने भन्दै ठगी गर्न सक्ने सम्भावना रहेकोले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु