नेपालगन्ज/ईकान्तिपुर—नेपालगन्जस्थित भेरी अस्पतालको गेटबाट १४ वर्षीया छोरीलाई साथमा लिएर हिँडेकी उनी दिनभर छोरीको स्वास्थ्य जाँचका लागि अस्पताल वरिपरि दौडिरहेकी थिइन् । सोमबार अस्पतालका कोठाहरू चहार्दा पनि उनले छोरीलाई छाडिनन् । उनका आँखामा पीडासँगै डर पनि देखिन्थ्यो ।
Advertisement
बाँकेको नरैनापुरस्थित नेपाल–भारत सिमानामा बस्ने पीडित परिवार सामूहिक बलात्कारमा परेकी छोरीलाई न्यायका लागि मात्र लडी रहेको छैन, परिवारकै सुरक्षालाई लिएर चिन्तित पनि छ ।
नरैनापुरमा पुस ३ को राति मेला हेरेर घर फर्किरहेकी वडा–४ की १४ वर्षीया किशोरीमाथि दुई युवाले बलात्कार गरेको घटनालाई परिवारले गुपचुप नै राखेको थियो । भोलिपल्ट प्रहरीले घटनाबारे थाहा पाएपछि पीडितलाई बोलाएर सोधे पनि उनीहरूले सुरुमा बताउन चाहेनन् ।
प्रहरीको निकै केरकारपछि मात्र परिवारले सबै कुरा खुलाएका थिए । त्यसको भोलिपल्ट पुस ५ मा प्रहरीले जबर्जस्ती करणीमा उजुरी दर्ता गरेको थियो । पीडित किशोरीका बुबाले पीडककै डरका कारण घटनालाई गोप्य राख्न खोजेको बताए ।









