नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै पनि सामग्री प्रसारण र प्रकाशन नगर्ननगराउन चेतावनी दिएको छ। स्थानीय प्रशासनद्धारा जारी बिज्ञप्तीमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सन्चार सामग्रीहरु प्रचारप्रचार नगर्न नगराउन अनुरोध गर्दै अटेर गरिए कानुन बमोजिम कारवाही हुने भनिएको छ । बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ ।
Advertisement
स्थानीय प्रशासन ऐन २०२८ को ६ (क) मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।
कर्फ्युको बेला आवत(जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ ।
गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय दिन सक्छ ।









