Advertisement
ईकान्तिपुर / बुटवल — लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ९ हजार ६ सय ११ पशु परेका छन् । एक लाख ९२ हजार १८ पशु संक्रमित भएका छन् । लुम्बिनी प्रदेशको पशुपक्षी तथा मत्य विकास निर्देशनालयका निर्देशक प्रवेशसिंह कुँवरका अनुसार १ लाख १८ हजार १ सय २९ पशुपक्षीको उपचार गरिएको छ ।
लुम्बिनी प्रदेशको रोल्पामा सबैभन्दा धेरै ३ हजार ४ सय ९१ पशु मरेका छन् । ३१ हजार २ सय १८ पशुपक्षी संक्रमित भए पनि अहिलेसम्म १८ हजार १ सय ६६ पशुपक्षीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको निर्देशनालयले जनाएको छ । लुम्बिनी प्रदेशमा १ लाख १८ हजार १ सय २९ पशुपक्षीको उपचार भएको छ ।
लम्पी स्किन रोगबाट दाङमा २९ हजार २ सय ११ पशु संक्रमित भएकोमा ७ सय ७६ को मृत्यु भएको छ । त्यस्तै रुकुममा १४ हजार ४ सय ९ संक्रमितमध्ये २ हजार ६२ पशु मरेका छन् । रूपन्देहीमा ७ हजार ९ सय ३४ संक्रमित भएकोमा ४ सय ४७ पशु मरेका छन् । ७ हजार ३ सय ३२ लाई खोप उपलब्ध गराइएको छ । बाँकेमा १ सय ५२ पशुको मृत्यु भएको छ । ४१ हजार ५२ पशु संक्रमित छन् । बर्दियामा १ हजार ७८ संक्रमितमध्ये १ सय २५ पशुको मृत्यु भएको छ ।
यस्तै प्यूठानमा ३४ हजार ७ सय २० संक्रमित पशुमध्ये ८ सय ११ को मृत्यु, अर्घाखाँचीमा ७ हजार २ सय ४१ संक्रमितमध्ये ३ सय ४२ को मृत्यु, गुल्मीमा ९ हजार ४ सय ४७ संक्रमितमध्ये ३ सय ९० पशुपक्षीको मृत्यु भएको छ । पाल्पामा ६ हजार ६ सय ७१ संक्रमितमध्ये ३ सय ६५ को मृत्यु, पश्चिम नवलपरासीमा ८ सय ९४ संक्रमितमध्ये ४१ पशुपक्षीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै कपिलवस्तुमा ४ हजार २५, बाँकेमा ६ हजार २ सय ३७, बर्दियामा ५ हजार २ सय २५, दाङमा ३ हजार ६ सय, रुकुम पूर्वमा १ सय २०, प्यूठानमा ७ सय ४७, अर्घाखाँचीमा ४ हजार ४ सय ९, गुल्मीमा ११ हजार १ सय ४९ र पाल्पामा २ हजार २ सय ६९ पशुपक्षीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ ।
लुम्बिनी प्रदेशका १२ मध्ये पश्चिम नवलपरासीबाहेक अन्य ११ जिल्लाका ७५ हजार ४ सय २० पशुपक्षीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । ‘तीन महिनादेखि लम्पी स्किनविरुद्धको खोप लगाइरहेका छौं,’ निर्देशक कुँवरले भने, ‘स्थानीय तहसँगको समन्वयमा खोप लगाएपछि अहिले धेरै पशुपक्षीमा नियन्त्रणमा आएको छ ।’ खोप लगाउन बाँकी पशुपक्षीमा लम्पी स्किनविरुद्धको खोप लगाउने कार्य जारी रहेको उनले बताए ।









