बीबीसी । चीनसहित नेपाल,भारत र भुटानका विभिन्न स्थानमा धक्का अनुभव गरिएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
उक्त भूकम्प नेपाल चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रबिन्दु बनाएर गएको र त्यसपछि कैयौँ परकम्पहरू मापन गरिएका अधिकारीहरूले बताएका छन्।
Advertisement
नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ। चिनियाँ निकायहरूले उक्त भूकम्पको ६.८ म्याग्निट्यूडको भएको जनाएका छन्।
चीनमा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको धक्का नेपालका विभिन्न भागमा
भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा भवनहरूलाई भत्किएका छन् भने मानिसहरू भागेर सडकमा निस्किएका थिए। सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा लात्से नगरनजिकै पसलहरू भत्किएको देख्न सकिन्छ।
शिगात्से पन्चेन लामा बस्ने धार्मिक केन्द्र हो। उनी तिब्बती बुद्ध धर्मका महत्त्वपूर्ण व्यक्तित्व हुन्।
भूकम्पपछि शक्तिशाली परकम्पहरू गइरहेका छन्। चिनियाँ सेनाले उद्धार प्रयास सुरु गरेको छ र मानवरहित ड्रोनलाई सगरमाथानजिकैको दुर्गम क्षेत्रमा परिचालित गरेको जनाएको छ।
भूकम्पको धक्का ४०० किलोमिटर पर अवस्थित नेपालको राजधानी काठमाण्डूमा पनि महसुस गरिएको थियो । सञ्चारमाध्यमहरूका अनुसार उत्तर भारतका विभिन्न स्थान र दिल्ली तथा भुटानको राजधानी थिम्पूमा पनि भूकम्प महसुस भएको थियो।
भारत र भुटानमा पनि धक्का महसुस
अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्पको म्याग्निट्यूड ७.१ भएको र गहिराइ १० किलोमिटर रहेको जनाएको छ।
नेपाली समयानुसार बिहान ६: ५० तिर उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। त्यसपछि पनि नेपालको लोबुचे क्षेत्रभन्दा उत्तर पूर्वमा पर्ने चिनियाँ भूमिलाई केन्द्रबिन्दु बनाएर आधा दर्जन भन्दा बढी भूकम्पहरू गएको अभिलेख गरिएको छ।
भारतीय सञ्चारमाध्यमहरूले उक्त भूकम्प पश्चिम बङ्गाल, असम र बिहार र दिल्लीसहित उत्तर भारतका विभिन्न स्थानमा पनि महसुस भएको जनाएका छन्। भुटानमा पनि भूकम्पको धक्का महसुस गरिएका विवरण आएका छन्।
दक्षिण पश्चिम चीनमा बारम्बार भूकम्पको प्रभाव देखा पर्ने गर्छ। सन् २००८ मा सिचुआन प्रान्तमा एउटा भीषण भूकम्पले करिब ७० हजार जनाको ज्यान लिएको थियो।
चीनको सरकारी प्रसारक सीसीटीभीका अनुसार मङ्गलवारको भूकम्पअघि सिगात्से वरपरको २०० किलोमिटर क्षेत्रभित्र पछिल्लो पाँच वर्षमा ३ वा त्यो भन्दा बढी म्याग्निट्यूडका २९ वटा भूकम्प अभिलेख गरिएको थियो।









