शिक्षिकाको कुटाइले बालकको आँखामा गम्भीर चोट

 

परासी/ईकान्तिपुर — पश्चिम नवलपरासीको प्रतापपुरमा शिक्षिकाको कुटाइबाट बालकको आँखामा गम्भीर चोट लागेको छ । प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षका प्रशान्त चौधरीलाई शिक्षिका सन्जु चौधरीले पिट्दा आँखामा चोट लागेको हो ।

Advertisement

 

उपचारको क्रममा चिकित्सकले देब्रे आँखाले देख्न नसक्ने बताएको बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले बताए ।

‘बालबालिका खेलेको निहुँमा आँखामा चोट लाग्ने गरेर कुटपिट गर्नुभएछ । हामीले न्याय कसरी पाउने ?,’ उनले भने, ‘एउटा आँखामा गम्भीर चोट लागेको छ। अर्को आँखाले पनि राम्ररी हेर्न मिलेको छैन । दोषीलाई कारवाही हुनुपर्‍यो । उपचार गरिदिनुपर्‍यो ।’

विद्यालयमा दुई जना साथीहरु झगडा गरेको र छुट्टाउने क्रममा प्लास्टिकको लठ्ठीले हान्दा आँखा फुटेको उनले जानकारी दिए । घटना मंसिर १८ गतेको भएपनि मिलापत्र गर्न लागेको अवस्था मात्रै घटना बाहिर आएको हो ।

बालकको आँखामा चोटपटक लागेपछि विद्यालयले स्थानीय मेडिकल, परासीको आँखा अस्पताल, भैरहवा हुँदै काठमाडौँको तिलगंगा आँखा अस्पतालमा उपचारको लागि लगेको थियो । तर पीडितले कानुनी प्रक्रिया चालेपछि विद्यालयले उपचारमा पनि चासो नदिएको पीडितको भनाइ छ ।

पीडित परिवारले प्रहरीमा उजुरी दिएपछि विद्यालयले उपचारवापतको रकम दिन समेत रोकेको छ । ‘परिवार बालकको उपचारको लागि काठमाडौँ गएको र त्यसपछि गाउँमा नै मिलापत्र गर्ने प्रयास गर्दा घटना बाहिर आउन ढिला भएको रहेछ,’ राष्ट्रिय मानव अधिकार आयोग बुटवलका प्रमुख हरि प्रसाद ज्ञवालीले भने,‘मानव अधिकारमा पीडितहरु आफ्नो गुनासो राख्न आएपछि अहिले सिविन नेपालको पहलमा बालकको उपचार हुने काम भइरहेको छ ।’

घटनापछि बालकका बुवा मंसिर १९ गते नै इलाका सेमरी प्रहरी चौकीमा उजुरी दिन गएका थिए । तर, चौकीले यस विषयमा इलाका प्रहरी कार्यालय बर्दघाट जान सुझायो । त्यसपछि परिवार बालकको उपचारको लागि काठमाडौँ गए । काठमाडौँबाट चिकित्सकको उपचार प्रतिवेदन पाएपछि मात्र प्रहरीले पुस १६ गते उजुरी लिएको पीडित बालकका बुवा नरेन्द्र प्रसाद चौधरीले गुनासो गरे ।

 

प्रहरीले पुस १९ गते जिल्ला अदालत परासीमा मुद्दा दायर गरी शिक्षक सन्जु चौधरीलाई पक्राउ गर्न अनुमति लिएको र उनी फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

एचके पाठशालाका प्रिन्सिपल सुजित कुमार गुप्ताले घटनामा दुःखद भएको भन्दै घटनामा संलग्न शिक्षिका सम्पर्कमा नभएको र विद्यालयले बालकको उपचार गर्ने, निःशुल्क अध्ययन र रोजगारीको ग्यारेन्टी गर्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु