हिमाल खबर । न्यायाधीशले छाड्न आदेश दिए पनि अदालतमा २०० रुपैयाँ बुझाउन नसक्दा छोरालाई जेल पठाएर घर फर्किएका बुवाको पीडा कस्तो होला? बर्दियाका ज्ञानसिंह थारू भन्छन्, “रातभर सुत्नै सकिनँ।’
शीतलहरको चिसोबाट जोगिन चुह्लोमा आगो सेकिरहेका वेला पुस २४ को बिहानै बर्दियाको बाँसगढी नगरपालिका-३, लख्ना गाउँका ज्ञानसिंह थारूलाई खबर आयो, ‘छोरा जेलबाट छुट्न सक्छ, अदालत आउनू।’
Advertisement
त्यो खबर सुन्ने वितिक्कै ५५ वर्षीय ज्ञानसिंह खुशीले उफ्रिए। कसैले देखिहाल्यो कि भनेर एकछिन जलाएर यताउता हेरे। सम्हालिँदै परिवारजनलाई आज फैसला आउन लागेको खबर सुनाए। छोरा कृष्ण छुट्ने वा नछुट्ने यकीन थिएन, त्यसैले परिवारजनसँग थप कुराकानी गरेनन्।
हतारहतार खाना खाए। साइकल समातेर लख्ना गाउँबाट जिल्ला अदालत रहेको बर्दिया सदरमुकाम गुलरियातिर हुइकिए। झन्डै ३५ किलोमिटर साइकलमा यात्रा गर्दा छोराबारे मात्रै सोचेको उनी सुनाउँछन्। “छोरा छुट्न सक्छ भन्ने खबरले खुशी थिएँ, गुलरिया पुगेको पत्तै पाइनँ,” ज्ञानसिंह भन्छन्।
जिल्ला अदालत, बर्दियामा सुनुवाइ चल्यो। न्यायाधीश डल्लुराम चौधरीको एकल इजलासले कृष्णलाई थुनामुक्त गर्न आदेश दियो। लागूऔषध कारोबारमा संलग्न नभए पनि सेवन गरेको देखिएकाले उनलाई आंशिक सजाय ठहर भयो। साढे तीन महीनादेखि जेल बसिसकेकाले उनलाई थुनामुक्त गर्न आदेश भएको कानून व्यवसायी ठाकुरसिंह थारू बताउँछन्। लागूऔषध सम्बन्धी मुद्दामा एक वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी व्यवस्था छ।
अदालतको आदेशसँगै ज्ञानसिंह खुशीले बोल्न सकेनन्। फैसला आएको केहीबेरसम्म चुपचाप बसे। अपराह्न भइसकेको थियो। छोरालाई साइकलमा राखेर घरतिर कुद्ने तयारी गरिरहेका वेला ज्ञानसिंहलाई अर्को झमेला लाइलाग्यो, पैसा भर्नुपर्ने। “अदालतमा २०० रुपैयाँ बुझाउनुपर्ने रहेछ, मसँग त्यति पैसा पनि थिएन,” उनी निरास भए।
अदालत परिसरमा कोही चिनजानका थिएनन्। कानून व्यवसायी पनि फैसला भएपछि यताउता हिडिसकेका थिए। कोसँग पैसा माग्नु? रनभुल्लमा परेका ज्ञानसिंहले यताउता गर्दागर्दै कार्यालय समय घर्किसकेको थियो, अदालत बन्द भयो। “छोरालाई फेरि जेलतिर लगे, म एक्लै घर फर्किएँ,” उनी भन्छन्।
निरास हुँदै फर्किएका उनले बाटोमा कसैसँग बोलचाल गर्न सकेनन्। घरपरिवारलाई २०० रुपैयाँ तिर्न नसकेर छोरा जेलमा रहेको कुरा नभनेको उनी सुनाउँछन्। “आज ढिलो भयो, भोलि छुट्छ भनेर कुराकानी गरेँ,” ज्ञानसिंह थारू भाषामै बोले, “रातभर निद्रा परेनँ, छटपटी भयो। आफैलाई धिक्कारे। छोरालाई घर ल्याउन नपाएकोमा साह्रै पछुतो लाग्यो।
ज्ञानसिंहलाई तीन महीना अघि पनि यसरी नै पछुतो लागेको थियो। त्यतिवेला छोरालाई छुटाउन अदालतमा धरौटी राख्ने पैसा जुटाउन सकेका थिएनन्। “धरौटी राख्न पैसा नभएपछि किन बाँचे हुँला जस्तो लागेको थियो,” उनी गत असोजमा अदालत परिसरको छटपटी सम्झिन्छन्।
त्यस्तै, छटपटी उनलाई असार ३० मा पनि भएको थियो। त्यो बिहान कृष्ण घरबाट निस्केका थिए। ज्ञानसिंह भने खेतको काम गर्न गएका थिए। एक्कासी उनलाई खबर आयो, कृष्णलाई प्रहरीले पक्राउ गर्यो। “गाउँलेले भनेपछि छोरालाई प्रहरीले लगेको थाहा पाएँ, म त छाङ्गाबाट झरे जस्तै भएँ,” उनी भन्छन्।
ज्ञानसिंहका अनुसार, घरबाट निस्केका कृष्णले गाउँकै बेण्डकुमार थारू, अमृत थारू र अर्जुन थारूलाई भेटेका थिए। एउटै उमेरका साथीहरू गफ गर्दै चुरोट खाइरहेका थिए। कृष्ण पनि कहिले काँही चुटोर तान्छन् भन्ने उनलाई थाहा थियो। कृष्णका साथीहरू त लागूऔषध लिएर आएका रहेछन्। “छोराले हिरोइन खायो कि खाएन त थाहा भएन, तर प्रहरीले हिरोइन खायो भनेर समातेको रहेछ,” उनी सुनाउँछन्।
त्यसपछि उनले कति दिन प्रहरी कार्यालयको चक्कर लगाए। मजदूरी गरेर दैनिकी चलाउने उनले कति दिन त काममा जानै सकेनन्, प्रहरीमा धाउँदा। जति गर्दा पनि प्रहरीले कृष्ण र उनका साथीहरूलाई छोडेनन्।
लागूऔषध कसूरमा अनुसन्धानका लागि प्रहरीले ६० दिनसम्म हिरासतमा राख्न पाउँछ। कृष्ण र उनका साथीलाई पनि बर्दिया प्रहरीले मिल्ने जति समय हिरासतमा राख्यो। त्यसपछि असोज १४ गते जिल्ला अदालतमा मुद्दा दायर गर्यो। त्यसमाथि असोज १५ गते न्यायाधीश डल्लुराम चौधरीको एकल इजलासमा थुनछेक बहस भयो। इजलासले कृष्ण र बेण्डलाई २०-२० हजार तथा अमृत र अर्जुनलाई ३०-३० हजार धरौटीमा छाड्न आदेश दियो।
चारै जनाबाट प्रहरीले ५० मिलिग्राम हेरोइन बरामद गरेको अभियोगपत्र अदालतमा दायर गरिएको थियो। कृष्ण र बेण्डले हेरोइन सेवन गरेको तथा अमृत र अर्जुनले कारोबार गरेको अभियोग लगाइएको थियो। उनीहरूबाट बरामद गरिएको ५० मिलिग्राम लागूऔषध हेरोइन नै भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको शाखा कार्यालय धनगढीमा परीक्षण गरिएको प्रतिवेदनमा पनि अभियोगपत्रसँगै पेश गरिएको थियो।
कृष्ण थारूलाई धरौटीमा छोड्न जिल्ला अदालतले गरेको आदेश।
पुर्पक्षका लागि भएको थुनछेक बहसपछि बर्दिया अदालतले त्यसका आधारमा गरेको आदेशमा भनिएको थियो, ‘लागूऔषध सेवन गर्न लाग्दा निजहरूको साथबाट ५० मिलिग्राम लागूऔषध बरामद भएको भन्ने बरामदी मुचुल्का, मौकामा कागज गर्ने रामसिंह थारू समेतले गरिदिएको घटना विवरण कागज, बरामद भएको लागू औषधको नमुनामा लागूऔषध हेरोइन पाइयो भन्ने बेहोराको परीक्षण प्रतिवेदन समेतका तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी आरोपित कसूरमा कसूरदार होइनन् भनी भन्न नसकिएकोले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (१) र ७२ बमोजिम प्रतिवादीहरू बिन्दु भन्ने बेण्डकमाुर थारू र सरोज भन्ने कृष्ण थारूबाट जनही रु. २० हजार रुपैयाँ वा सो बराबरको जेथा वा ब्यांक ग्यारेन्टी दिए धरौटी लिई तारेखमा राख्नु।’
यससँगै आदेशमा अर्को एउटा वाक्य थियो, ‘सो दिन नसके सोही संहिताको दफा ८० बमोजिम थुनुवा पुर्जी दिई कारागार कार्यालय बर्दियामा लेखी पठाई दिनु भनी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७९ बमोजिम यो आदेश गरिदिएको छ।’
धरौटीमा छोड्न जिल्ला अदालतले गरेको आदेश।
अन्य तीन जनाले त धरौटी बुझाए, तर ज्ञानसिंहसँग पैसा थिएन। उनका छोरा कृष्णका लागि आदेशको दोस्रो वाक्य लागू भयो। “मसँग २० हजार रुपैयाँ थिएन, छोरालाई छुटाउन सकिनँ,” ज्ञानसिंह भन्छन्।
असोज १५ मा छोरालाई घर ल्याउन नसके पनि त्यसपछि २० हजार रुपैयाँ जुटाउने प्रयास जारी राखे। गाउँघरमा सरसापटका लागि कोसिस गरे। ऋण माग्न चिनजानका मान्छेलाई गुहारे। “जति गर्दा पनि २० हजार रुपैयाँ जुटेन,” उनी भन्छन्, “केही दिन त गाउँघरमा खोजबिन गरे। कतैबाट केही नलागेपछि चुप लागेर बसे।”
पैसा खोज्न चहार्दा पनि काम गर्न पाएनन्। त्यतिवेला घर चलाउनै गाह्रो भएको उनी सुनाउँछन्। बिहान बेलुका खानपिन जुटाउनै गाह्रो हुन थालेपछि पैसा खोज्न छोडेर मजदूरीमै लागेको ज्ञानसिंह दुःखेसो गर्छन्।
ज्ञानसिंहसँग जग्गाजमीन छैन। सानो घर मात्रै छ। उनी मजदूरी गरेर परिवार पाल्दै आएका छन्।
दुई छोरा रामकृष्ण र कृष्णलाई स्कूल पनि लगाएका थिए। तर, पढाउन सकेनन्। जेठो रामकृष्णले कक्षा ४ सम्म र कृष्णले कक्षा २ सम्म पढेको उनी सुनाउँछन्। उनीहरू पनि मजदूरी गर्छन्। “पढेलेखेका नभए पनि दुवै छोरा गाउँमा सबैभन्दा इमानदार हुन्, कसरी यस्तोमा परेर म पनि अचम्ममा परेको छु,” उनी भन्छन्।
ज्ञानसिंह खेतिपातीको सिजनमा गाउँमै मजदूरी गर्छन् भने अन्य समयमा कोहलपुर बजार पुग्छन्। “म पढेलेखेको मान्छे होइन। अरु काम त आउँदैन, लेबरी गर्छु,” उनी भन्छन्।
पछिल्लो दिन महीना दिनभर काम गरे पनि साँझ घर फर्केपछि भने थकथकी लाग्ने गरेको उनी सुनाउँछन्। छोरालाई धरौटीमा छुटाउन नसकेकोमा पछुतो लाग्ने गरेको थियो। “अदालतमा २० हजार बुझाउन सकेको भए मेरो छोरा तीन महीना जेलमा बस्नुपर्ने थिएन,” उनी विगत कोट्याउँछन्, “मैले केही गर्न नसक्दा छोरा जेलमा बस्नुपर्यो भन्ने थकथकी लागिरह्यो।”
छोरालाई छुटाउनका लागि स्थानीय नेताहरूलाई पनि गुहारेका थिए। कसैले पनि सहयोग नगरेको उनी बताउँछन्। त्यसपछि मुद्दा लड्न गाह्रो भयो। वकीललाई दिन पैसा थिएन। “एक दिन ठाकुर वलीलसाबसँग भेट भयो, मेरो कुरा सुनाएँ। उहाँले सित्तैमा मुद्दा लडी दिनुभयो,” ज्ञानसिंह भन्छन्।
कानून व्यवसायी ठाकुरसिंह थारूले कानूनी सहयोग गरे। यो मुद्दा पछिल्लो साढे तीन महीनामा चार पटक पेशी चढ्यो। जिल्ला अदातलको अभिलेख अनुसार, असोज १५ मा धरौटीमा छाड्न आदेश भयो। त्यसपछि पुस १७ मा न्यायाधीश डल्लुराम चौधरीको इजलासले बकपत्र गर्न आदेश दिएको थियो। पुस १८ मा न्यायाधीश मनोज श्रेष्ठको इजलासमा बयान र बकपत्र भएको मुद्दामा पुस २४ मा फैसला आएको हो।
आदेश भएको भोलिपल्ट गाउँबाट ऋण निकालेर लिएपछि अदालतमा बुझाएको २०० रुपैयाँको रसिद।
उनको तर्फबाट बहस गरेका कानून व्यवसायी ठाकुर पनि २०० रुपैयाँ नहुँदा एक रात जेल बस्नु परेको कुरा पछि थाहा पाएको बताउँछन्। जिल्ला कारागार, बर्दियाँका जेलर नरबहादुर सार्की पनि राहत कोषमा पैसा जम्मा गर्न नसक्दा जेल पठाएको भन्नु सुनेको बताउँछन्। “जेलबाट छोड्ने पनि प्रक्रिया हुन्छ, अदालतको पत्र आउनुपर्छ,” उनी भन्छन्, “अदालतको पत्र लिएर भोलिपल्ट आएका थिए, पुस २५ गते कृष्णकी आमा कमलाकुमारी थारूको जिम्मा लगाएका हौं।”
अर्को दिन छरछिमेकबाट मागेर अदालतमा पैसा बुझाउन सकेको ज्ञानसिंह सुनाउँछन्। कृष्णले भने यस विषयमा बोल्न मानेनन्। “मैले जे जति भन्नुपर्ने थियो, वकीललाई सबै कुरा बताइसके। प्रहरी र अदालतमा पनि धेरै पटक भनिसके। अब यसमा बोल्न मन छैन,” कृष्ण भन्छन्।
उनका बुवा ज्ञानसिंहलाई भने अझै पनि थकथकी नै छ। अदालतमा २०० रुपैयाँ तिर्न नसक्दा छोरालाई जेल पठाएर आफू घर फर्किनु परेकोमा पछुतो मानिरहेका छन्। त्यसको पाँच दिनपछि हिमालखबरसँग कुराकानी गर्दा पनि उनले पटकपटक त्यही प्रसङ्ग कोट्याए। तथापि, ६ महीनापछि छोरा घर फर्कियो भनेर चित्त बुझाइरहेका छन्।
यो ६ महीनामा उनले बुझेको एउटै कुरा हो, मुद्दा मामिलामा परियो भने गरीबलाई बाच्नै गाह्रो हुनेरहेछ। “मसँग २०० रुपैयाँ नहुँदा मेरो छोराले जेलमा बस्नुपर्यो। त्योभन्दा ठूलो पीडा अहिलेसम्म मलाई कहिल्यै भएको छैन,” ज्ञानसिंह गम्भीर हुँदै भन्छन्, “मलाई परेको जस्तो पीडा कसैलाई नपरोस्।”









