नेपालगन्ज । बर्दिया जिल्लाका विभिन्न ताल तलैया र नदीहरूमा जाडोको समयमा बसाई सरी आउने र रैथाने पानी चराहरुको सङ्ख्या वृद्धि भएको छ । जिल्लामा गरिएको चरा गणनामा पानी चराको सङ्ख्या बढेको नेपाल पंछीविद संघका केन्द्रिय सदस्य एवं चरा विज्ञ रामबहादुर शाहीले बताउनुभयो
Advertisement
उहाँका अनुसार गेरुवा नदी कर्णाली नदी र बढैया तालमा चराको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको हो । साइबेरिया लगायत विभिन्न देशबाट जाडो छल्नका लागि आउने पाहुना चराको हरेक वर्ष गणना गर्ने गरिएको छ । यस वर्षको चरा गणनामा बर्दियामा तिन हजार ८८९ ओटा जलचर भेटिएको जनाउँदै चरा विज्ञ शाहीले तीमध्ये बढैयातालमा सबैभन्दा बढी दुई हजार १४९ ओटा, कर्णाली नदिमा ९१८ र गेरुवा नदिमा ८२२ ओटा चरा फेला परेको बताउनुभयो ।
नेपाल पंछीविद संघका अनुसार गत वर्ष २०८० को चरा गणनामा तीन हजार २०४ र २०७९ को चरा गणनामा दुई हजार १२६ वटा चरा गणना गरिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष चराका प्रजाति र चराहरू बढी फेला परेको नेपाल पंछीविद संघका केन्द्रिय सदस्य एवं चरा विज्ञ शाहीले बताउनुभयो । उहाँले बर्दियामा चराको बासस्थानमा समस्या हुँदाहुँदै पनि आगन्तुक चराको सङ्ख्यामा वृद्धि हुनु सुखद् रहेको बताउनुभयो ।
बजेट अभावको कारणले बर्दिया जिल्लामा भएका अरू तालतलैयाहरुमा चरा गणना गर्न नसकिएको बताउँदै विज्ञ शाहीले कतिपय जलचराहरु अरू ताल तलैयामा समेत फेला पर्ने गरेको जनाउनुभयो।
सरकारले चरा गणनालाई व्यवस्थित बनाउनका लागि आवश्यक बजेट र कार्यक्रमको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । पानीको कमी, असुरक्षित बासस्थान, आहारा प्रजातिको कमी, डिजेबाजा र पर्यावरणमा परेको असरका कारण चराको बासस्थान संकटमा पर्दै गएको जनाइएको छ ।
पछिल्लो समयमा भइरहेको विकास निर्माण वातावरण मैत्री हुन नसक्दा चराहरूको बासस्थान संकटमा परेको, नदीले धार परिवर्तन गर्ने, बिजुलीका तारहरूले चराहरू संकटमा पार्दै गइरहेको विज्ञ शाहीको भनाइ छ । उहाँका अनुसार नेपालमा ८९७ प्रजातिको चरा मध्ये २०० प्रजातिका जलपँक्षी रहेका छन् ।
नेपालमा हरेक वर्ष १५३ प्रजातिका चराहरू बसाइ सरेर आउने गरेको तथ्यांक रहेको नेपाल पन्छीविद् संघले जनाएको छ । गोरखापत्र अनलाइन









