नेपालगन्ज : फरक धर्म, मजबुत सम्बन्ध

असोज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलका गीता वारी र फरिन सल्मानी एउटै टोलमा हुर्किए । चुंगी, रबर ब्यान र खोपी खेल्दै सँगै बालापन बिताए । उनीहरूको प्रार्थनास्थल फरक–फरक छ । गीता मन्दिर पुगेर प्रार्थना गर्छिन् भने फरिन मस्जिद जान्छिन् । धर्म र रीति फरक भए पनि वर्षौंदेखि उनीहरूको मित्रताको डोरी उस्तै कसिलो छ । त्यो मित्रता परिवारसम्म कसिएको छ । सुखदुःखमा दुईको परिवार एकै ठाउँमा हुन्छन् । खुसी बाँड्छ्न्, दुःख साट्छन् । फरिनको घरमा पाकेको सेबई गीताको घरमा पुग्छ । गीताको घरमा पाकेको पकौडा फरिनको घरमा पुग्छ ।

१८ वर्षीया गीता नेपालगन्जस्थित सरस्वती माविमा कक्षा १० मा पढ्छिन् । फरिनले भने मदरसामा ५ कक्षा पढेर छाडिन् । उनी हिजोआज दाइको पसलमा सघाउँछिन् । घरबारी टोलको एउटा गल्लीमा उनीहरूको घर जोडिएको छ । ‘हामी एकअर्काको कुरा सुनेर घण्टौं बात मार्छौं,’ फरिनले भनिन् । गीता र फरिन दुवै परिवारका एक्ला छोरी हुन् । दुवै एकअर्काको घरको भान्छामा कुनै दकस नराखी छिर्छन् । भान्सामा पाकेको पकवान चाख्छन् ।

Advertisement

एकअर्काको चाडबाड पनि उत्तिकै खुसी भएर रमाउँछन् । इदमा गीताको मन खुसी हुन्छ, तिहारमा फरिन भैलो खेल्न गीतासँगै जान्छिन् । ‘१५ वर्षको उमेरसम्म सँगै भैलो खेल्थ्यौं । रमाइलो हुन्थ्यो, हामी पिकनिक पनि सँगै जान्थ्यौं,’ फरिनले भनिन्, ‘चुंगी, गोटी त हामी दिनभर खेल्थ्यौं ।’ गीता र फरिन मात्रै होइन, उनीहरूका दाइहरू पनि औधी मिल्ने साथी हुन् । उनीहरू दुवैलाई धार्मिक सद्भावको शाब्दिक अर्थ थाहा छैन । तर फरक धर्म मान्नेहरू पनि मिलेर कसरी बस्छन् भन्ने राम्रोसँग थाहा छ । फरिनले भनिन्, ‘मान्छेहरू धर्मको नाममा झगडा गर्छन् । विवाद गर्छन्, यसो गर्दा खोइ के पाउँछन् ? हामी त एकअर्कामा केही फरक देख्दैनौं ।’ गीताले आफूहरू मात्रै नभएर बाबुबाजेका पालादेखि टोलमा मिलेर बसेको इतिहास सुनाइन् ।

 

लुम्बिनी सांस्कृतिक नगरपालिका–४, खम्हे गाउँका पण्डित सूर्यनाथ तिवारी २५ वर्षदेखि कर्मकाण्डमा छन् । हिन्दु परम्परा अनुसरण गरेर पूजाआजा गर्दै आए पनि ५५ वर्षीय सूर्यनाथलाई बुद्ध धर्म र संघको त्रिरत्न वचन कण्ठस्थ छ । उनी बुद्ध धर्मावलम्बीका चाडबाडमा पनि सरिक हुन्छन् । लुम्बिनीको सबैभन्दा पुरानो राजकीय बुद्ध विहार प्रमुख ५२ वर्षे भिक्षु सागर धम्मसँग उनको पुरानो आत्मीय सम्बन्ध छ ।

भिक्षु सागर धम्म पनि हिन्दु धर्मावलम्बीका चाडबाडमा सहभागी हुन्छन् । प्रत्येक वर्ष लुम्बिनीमा चैते नवमीमा हुने हिन्दुहरूको हवन कुण्डमा अतिथि भएर पुग्छन् । प्रसाद ग्रहण गर्छन्, आशीर्वाद दिएर फर्कन्छन् । लुम्बिनीमा मुण्डन गर्न आउने हिन्दु धर्मावलम्बीका अभिभावक बालकको कपाल खौरिएपछि आशीर्वाद लिन यिनै भिक्षुकहाँ पुग्छन् । दुई फरक धर्मका अगुवा भए पनि तिवारी र भिक्षु धम्मको मित्रता करुण र मैत्रीभावको डोरी कस्सिएर बलियो बनेको हो । पण्डित तिवारी राजकीय विहारसँगै रहेको मुण्डन स्थलमा मुण्डन गर्न र कथा सुनाउन दैनिकजसो पुग्छन् । तिवारी आफूले गर्ने सांस्कृतिक र धार्मिक कार्यक्रममा भिक्षु सागरलाई पनि बोलाउँछन् । भिक्षु धम्मले पनि विहारमा आयोजित कार्यक्रममा पण्डित तिवारीलाई उसैगरी बोलाउँछन् । अहिले बौद्ध धर्मावलम्बीको वर्षावास चलिरहेको छ । हरेक दिन विहारमा बिहान दुई घण्टा सागर धम्म प्रवचन दिन्छन् । प्रवचन सुन्न तिवारी पनि दैनिकजसो विहार पुग्छन् ।

सागर धम्मलाई तराईको स्वाद मन पर्छ, तिवारीलाई पहाडको । मधेशमा नागपञ्चमीमा बनाइने गोझिया गुलगुलालगायतको पकवान भिक्षुलाई मन पर्छ । तिवारी त्यही लिएर पुग्छन् । उता तिवारीलाई शाकाहारी भोजन मन पर्छ । भिक्षुले उनलाई शाकाहारी भोजन बेलाबेला खुवाउँछन् । पण्डित तिवारीले खानपानले पनि आपसी सद्भाव र मित्रता कसिलो बनाउन सक्ने बताए । उनले आफूहरूबीच धार्मिक कुरामा पनि छलफल हुने र कतिपय फरक धारणामा छलफल गर्दै एकमत हुने गरेको सुनाए । भिक्षु धम्मले सुनाए, ‘हामीबीच राम्रो समझदारी छ । त्यही भएर दशकदेखिको हाम्रो मित्रता प्रगाढ हँॅदै गएको छ ।’ लुम्बिनीको मायादेवी मन्दिरनजिकै हिन्दु धर्मावलम्बीहरू कराही चढाउने र केश मुण्डन गर्न आउने गरेका छन् । यसले धार्मिक वातावरण बिग्रनुभन्दा सुनमा सुगन्ध थपिएको भिक्षु सागर धम्मले बताए । भने, ‘यस्तो अभ्यासले लुम्बिनीप्रति हिन्दु धर्मावलम्बीको पनि अपनत्व बढेको छ ।’ ईकान्तिपुर ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु