बर्दिया- अमेरिकामा गठित थारूज एण्ड फ्रेन्ड्स असोसियसनले धरौटी रकम तिर्न नसकि कारागार चलान भएका बर्दिया बासगढीका कृष्ण थारुलाई आर्थिक सहयोग प्रदान गरेको छ।
पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित “अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ” शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गराइएको हो।
Advertisement
थारूज एण्ड फ्रेन्ड्स असोसियसनले बर्दिया बासगढी नगरपालिका-३, लखनाका कृष्ण थारुलाई १३,१२४ रुपैयाँ सहयोग पठाएको थियो। उक्त रकम पत्रकार सन्तोष दहितले अधिवक्ता एवं अगुवा ठाकुरसिंह थारुको उपस्थितिमा पीडित कृष्ण थारुका बुवा ज्ञानसिंह थारुलाई हस्तान्तरण गरेका थिए।
असोसियसनका संस्थापक अध्यक्ष त्रिभुवन चौधरी, सुरेन्द्र चौधरीलगायतले आर्थिक संकलन गरी सहयोग उपलब्ध गराएको जानकारी अमेरिकाबाट सुरेन्द्र चौधरीले दिएका छन्।
कृष्ण थारु लागुऔषध सेवनको आरोपमा गत असार ३० गते पक्राउ परेका थिए। तीन महिना पछि असोज १५ गते जिल्ला अदालत बर्दियाले उनलाई २०,००० रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उनले धरौटी बुझाउन नसक्दा जेल चलान भएका थिए। त्यसपछि पुस १७ गते न्यायाधीश डल्लुराम चौधरीको इजलासले बकपत्र गर्न आदेश दिएको थियो। पुस १८ गते न्यायाधीश मनोज श्रेष्ठको इजलासमा बयान र बकपत्र सकिएपछि पुस २४ गते फैसला आएको थियो। अदालतले थारुलाई रिहा गर्ने आदेश दिए पनि राहत पीडित कोषमा २०० रुपैयाँ बुझाउन नसक्दा उनी पुनः एक दिन चौधरी कारागार चलान भएका थिए।
थारुको तर्फबाट अधिवक्ता ठाकुरसिंह थारुले निःशुल्क कानूनी सहायता प्रदान गरेका थिए।