बर्दिया- होसियार । बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान । कृपया ४० किमि प्रतिघण्टा भन्दा कम गतिमा सवारीसाधन चलाउनु होला । डिभिजन वन कार्यालय बर्दियाले सर्वसाधारणको जानकारीका लागि राखिएको सूचना बोर्ड वन क्षेत्रको होईन ।
गुलरिया नगरपालिका काटेपछि सुरु हुने मधुवन नगरपालिकादेखि कर्णाली कोठियाघाट पुलसम्मको हुलाकी राजमार्ग छेउछाउका गाउँहरुमा बन्यजन्तुहरु ओहोरदोहोर गर्ने स्थान भन्दै बोर्ड राखिएको छ । उक्त राजमार्ग भएर आउजाउ गर्नेहरुलाई बन्यजन्तुबाट जोगिनका लागि सूचना दिइएको हो । गाउँबस्ती भएर बन्यजन्तु आउजाउ गरेपछि सुरक्षा संबेदनशिलता बढेको हो । हुलाकी राममार्ग बन्नुअघि कच्ची सडक थियो । हाल राजमार्ग कालोपत्रे भइसकेको छ । उक्त क्षेत्रलाई खाता करिडोरका रुपमा चिनिन्छ ।
Advertisement
उक्त करिडोरले बर्दिया राष्ट्रिय निकुन्ज र भारतको कर्तनीया सेन्चुरी संरक्षित क्षेत्रलाई जोडेको छ । त्यसैले खाता सरक्षित क्षेत्र भएर बन्यजन्तु ओहोरदोहोर बढी भएको हो । ‘क्यामरा जडान गरेर अध्ययन गर्दा खाता क्षेत्रमा बन्यजन्तुको आउजाउ निकै बढी देखियो । तर गाउँ पनि त्यही छन् । गाउँसंगै जोडिएर संरक्षित वन पनि छन्,’ डिभिजन वन कार्यालय बर्दियाका एक अधिृकत भन्छन्,‘त्यसैले बन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा सूचनाका लागि बोर्डहरु राखेका छौँ । यसले सुरक्षा संबेदनशिलतासंगसंगै सुरक्षाका लागि सचेत गराउन सहयोग पुगेको छ ।’
मधुवन नगरपालिकाको ढोढरी चोकहुँदै ओरली बजारसम्मको वन क्षेत्र हँुदै हुलाकी राजमार्ग बनेको छ । आसपासमा गाउँबस्ती छन् । त्यहाँ पनि बन्यजन्तु ओहोरदोहोर गर्ने स्थान भनिएको छ ।
ओरालबजारदेखि पश्चिमको खाता क्षेत्रलाई अझ संबेदनशिल मानिएको छ । खाता गाउँबाट कोठियाघाट पुलसम्मको करिव ५ सय मिटर दुरीसम्म वन क्षेत्र छ । त्यहाँ कालोपत्रे भइसकेको छ । कोठियाघाट पुल छेउमै वनभित्रै अर्को बस्ती छ । वन्यजन्तुको सुरक्षाका लागि त्यस क्षेत्रको हुलाकी राजमार्गमा १० स्थानमा बेर्कर राखिएको थियो ।
स्थानीयका अनुसार त्यस क्षेत्रबाट पाटे बाघ, चितुवा, हात्ती र गैंडा लगायका बन्यजन्तुहरु ओहोरदोहोर गर्दै आएका छन् । कुनैबेला दिनदहादै बन्यजन्तु आउजाउ गरेको देख्न सकिन्छ । तर सबैभन्दा बढी दुःख जंगली हात्तीले दिने गरेको छ । हात्ती रोक्नका लागि खाता क्षेत्रमा सिमिन्टको पर्खाल लगाइएको छ । बन्यजन्तु ओहोरदोहोर हुने क्षेत्रमा बस्ती बस्ने, वन अतिक्रमण हुने गरेका कारण समस्या बल्झिदै गएको हो । केही बस्तीका कारण खाता केरिडोर टुक्रिएएर संघुरो हुँदै गएको छ । यसले संरक्षणमा चुनौती थपिएको हो ।









