बाँकेमा १ सय ४६ वटा मुद्दामा १ सय ३५ व्यक्तिहरु पक्राउ

 

जिल्ला प्रहरी बाँकेमा दर्ता भएका १४६ मुद्दामा १३५ जनालाई पक्राउ गरीएको छ । बिहिवार आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा माघमा ५८ वटा पेण्डिङ मुद्दाहरु फछ्र्यौट गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दर्ता भएका ३९४ ठाडो उजुरीका निवेदनमा ३८७ फछ्र्यौट हुँदा ७ वटा अनुसन्धान प्रक्रियामा रहेका छन् । लागूऔषधविरुद्धको कारबाहीमा जिल्ला प्रहरी कार्यालय बाँकेले ५४ ग्राम ३३० मिलिग्राम ब्राउन सुगर, १९० ट्याब्लेट नाइट्राजेपामसहित ३४ जना ओसारपसार कर्ताहरुहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ ।

Advertisement

बाँकेमा माघ महिनामा ट्राफिक कारबाहीबाट २५ लाख बढी राजश्व संकलन भएको छ । ३ हजार २ सय ९७ सवारी साधनलाई कारबाही गर्दा २५ लाख ४५ हजार राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो एक महिनाको अवधिमा १४ लाख ४३ हजार १ सय १६ रुपैयाँ बराबरको अवैध भन्सार छ्लीको सामान पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको जानकारी दिइएको छ । यस्तै अपराध अनुसन्धानतर्फ १४६ वटा मुद्दा दर्ता भएकोमा १३५ जना व्यक्तिहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । यो अवधिमा ६१ जना फरार अपराधी पक्राउ गरिएको छ । बाँके प्रहरीले विवाहमा युवकलाई कर्तब्य गरी मार्ने ६ जना पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यस्तै विदेश पठाइदिन्छु भन्दै १ करोड ३२ लाख रकम ठगी गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । नेपालगन्ज टांगा स्टेशनका इरसाद कवडियालाई खुकुरी प्रहार गरी कर्तव्य ज्यान गर्ने ४ जना मध्ये २ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसैगरी सीमा नाकाबाट ११६ जना महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई उद्दार गरिएको छ । ट्राफिक सचेतनातर्फ २२० वटा सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) संचालन गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै आन्तरिक सुदृढीकरण प्रयासतर्फ उत्कृष्ट कार्य गर्ने ४ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत र आचरण बिपरीत कार्य गर्ने १ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ भने खजुरामा आयोजित फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको फुटबल टिमले प्रथम स्थान हासिल गरेको पनि बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हिमराज विकले कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले ट्राफिक व्यवस्थापन र फूटपाथ खाली गराउन प्रयासरत रहेको बताए । कार्कीले लागूऔषध नियन्त्रण र सडक दुर्घटना न्यूनीकरण चुनौतीको रुपमा देखिएको बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु