बाँकेमा पर्यटकीय गन्तव्य बने पनि व्यावसायिक योजना बन्न नसकेकोमा चिन्ता

नेपालगन्ज — बाँकेमा रहेका कला, संस्कृति, सम्पदा र जैविक विविधताको प्रशस्त प्रचारप्रसार नहुँदा पर्यटकीय गतिविधि ओझेलमा पर्दै गएको सरोकारवालाले बताएका छन् । यसका लागि योजना र कार्यक्रमहरु बढाउनुपर्ने उनीहरुले बताए ।
 
 
बाँके राष्ट्रिय निकुञ्जको आयोजना तथा जेडएसएल र इन्रुडेक कोहलपुरको साझेदारीमा शनिबार कोहलपुरमा स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढीकरणका लागि कार्यशाला गोष्ठीमा बाँके क्षेत्र नं. १ का सांसद एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बाँके जिल्ला पर्यटकीय क्षेत्रका हिसाबले प्रशस्तै सम्भावना बोकेको बताउँदै नेपाल पर्यटन र संस्कृतिले सम्पन्न भएको देश भएको भएका धार्मिक स्थल, विभिन्न जातजातिको परम्परा र संस्कृति, खानाको परिकार आदिलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
 
 
लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक राम जोशीले बाँकेको पर्यटन प्रर्वद्धनका लागि यस क्षेत्रका सबै धार्मिकस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्न सहज वातावरण बनाउने बताए । ‘बाँकेमा पर्यटनको धेरै नै सम्भावना छ । यसलाई प्रवर्द्धन गर्नको लागि प्रदेश परिषद्ले टुर प्याकेजको कार्यक्रमहरु चाँडै नै बनाउने योजना परिषद्को रहेको छ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनका लागि परिषद्ले बनाउने योजनामा अन्तरप्रदेश सहकार्य आवश्यक छ ।’
 
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्ज मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न र मध्यवर्ती क्षेत्र आसपास बसोबास गर्ने मानिसहरुको जीवनस्तर उकास्नका लागि वनमा आधारित व्यवसायलाई प्रवर्द्धन गर्न निकुञ्ज कार्यालय तयार रहेको बताए ।
‘विशेषगरी पाटे बाघ संरक्षरणका लागि स्थापना गरिएको यस निकुञ्जको प्रचारप्रसार गरी समग्र पर्यटन व्यवसायलाई अगाडि बढाउन लागिरहेका छौं,’ उनले भने,‘ओभरी नजिकैका क्षेत्रमा हात्ती सफारी, ड्राइभ र पैदल यात्राका, मचान निर्माण गरी जंगल क्षेत्रका दृश्यावलोकन, पैदल यात्रा, व्यवस्था गरिएको छ । ’
 
कार्यक्रममा संरक्षण अधिकृत कँडेलले निकुञ्ज स्थापनाको उद्देश्यसँगै निकुञ्जले प्राप्त गरेको उपलब्धिका विषयमा जानकारी गराएका थिए ।
 
बाघ संरक्षणका लागि २०६७ मा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा हाल बाघको संख्या २५ रहेको र बाघको संख्या बढेसँगै संरक्षणमा चुनौती थपिएको बताउँदै बाघ संरक्षणका लागि आहारा प्रजातिका जनावरको संख्या बढाउनका लागि घाँसेमैदानको क्षेत्रलाई बढाउँदै लगिएको निकुञ्ज प्रमुख कँडेलले जानकारी दिए ।
 
 
 
लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसीले बाँके निकुञ्ज मार्गमा जोडिएको गाभर क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् ।
 
‘गाभरमा थारु, मुगाली र हुम्ली संस्कृतिको सम्मिश्रण पाइन्छ । वरिपरि निकुञ्ज क्षेत्र भएकाले पदयात्रा र वन्यजन्तु अवलोकनका लागि यो क्षेत्र आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ,’ उनले भनिन्, ‘बाँकेका प्रत्येक होटलमा छिर्दा पाहुनाले बाँके राष्ट्रिय निकुञ्जका तस्बिर देख्न पाउनु पर्छ । यो पनि एउटा यस क्षेत्रका पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्ने माध्यम हुन् । ’
 
उक्त कार्यशाला गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै बाँकेको महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक हरि सुवेदीले बाँके पर्यटन प्रर्वद्धनका लागि सरोकारवाला निकायका सबैको सहकार्य आवश्यक रहेको बताउँदै चुरे क्षेत्रलाई विशेष संरक्षण गर्न जरुरी रहेको बताए ।
 
इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागी सम्बन्धित स्थानीय तहले जीविकोपार्जन सम्बन्धी विभिन्न किसिमका तालिम, छलफल, सीप विकास लगायतका कुराहरुमा जोड दिए ।
 
यसैबीच स्थानीय पर्यटन उद्यमीहरुका अवसर सुदृढीकरणका लागि कार्यशाला गोष्ठीले ६ बुँदे घोषणा—पत्र २०८१ सार्वजनिक गरिएको छ ।
 
कार्यक्रममा जनप्रतिनिधिहरु, पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन, सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो । ईकान्तिपुर

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु