Advertisement
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जमा समस्याग्रस्त बाघलाई थुन्नका लागि खोरको अभाव भएपछि थप दुई वटा खोर निर्माण कार्य भइरहेको छ । रम्मापुरमा दुई वटा खोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
निकुञ्जको रम्मापुर पोष्टको छेउमा बाघको खोर निर्माण हुन लागेको हो । हाल बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारा र रम्मापुरमा चार वटा बाघको खोर छन् । विभिन्न कारणले जंगली बाघ मानव समुदायका लागि समस्या बन्यो भने वा घाइते अवस्थामा फेला परी उपचारको खाँचो पर्यो भने नियन्त्रणमा लिएर खोरमा राखिन्छ ।
हाल बर्दिया निकुञ्जको ठाकुरद्वारामा समस्याग्रस्त २ भाले र रम्मापुरमा १ पोथी र २ भाले रहेका छन् । ती बाघ करिब ६/७ वर्ष देखि खोरमा रहेका छन् । निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले नियन्त्रणमा लिएका निर्मााधीन बाघ खोर यसै आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुने बताए ।
दुई वटा खोर निर्माण भएपछि समस्याग्रस्त बाघ राख्ने समस्या केही हदसम्म समाधान हुने उनले जनाए । बर्दियामा मात्रै बाघले पाँच वर्षयता ४० जना बढीको ज्यान लिएको छ । बर्दिया निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् । सन २०२२ को गणना अनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्फा हाम्फेले बाघको संख्या एकातिर बढ्दै जानु र समस्याग्रस्त बाघ थपिँदै जाँदा विकल्प खोज्न जरुरी रहेका बताए । सरकारले यसका लागि समस्याग्रस्त वन्यजन्तु बाघलाई नियन्त्रणमा लिई खोरमा राख्नुपर्ने बाध्यता नरहने गरी ओपन जु सफारीको अवधारणा ल्याउन जरुरी रहेको उनको भनाइ छ । ईकान्तिपुर ।









