बर्दिया, असोज २२ सोमबार
बर्दियाको बारबर्दिया नगरपालिका ५ बरदिया गाउँमा दुई दिने पौराणिक लोक नृत्य पतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय थारु कलाकार मंच बर्दियाको आयोजना तथा पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा असोज २६ र २७ आयोजना हुने कार्यक्रमको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न तयारी तिब्र पारिएको राष्ट्रिय थारु कलाकार मंच बर्दियाका अध्यक्ष प्रदेशी चौधरीले बताए । असोज २६ गते कार्यक्रमको भव्य उद्घाटन गरी २७ गते कार्यक्रम समापन हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बर्दिया निर्वाचन क्षेत्र नं. १ ख बाट निर्वाचित प्रदेश संसद राजकुमार चौधरीले गर्ने आयोजकले जनाएको छ ।
दुई दिनेसम्म चल्ने प्रतियोगिता तथा संस्कृतिक कार्यक्रमको पौराणिक लोककला संस्कृतिको संरक्षण तथा प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्य राखिएको छ । आदीबासी जनजाती समुदायमा रहेको लोककलाको संरक्षण गर्न अभिप्रेरित गर्दै प्रोत्साहन गर्ने, बर्दियाली कलाकारहरुको मनोबल बढाउन हौसला प्रदान गर्ने, कला तथा गितसंगित जगेर्ना गर्नमा सकृयता र सहभागितामा बृद्धि गर्ने, पौराणिक लोक कला संरक्षणकर्ता तथा सर्जकहरुलाई सम्मान गर्ने, स्थानीय रैथाने खानपान व्यवस्थानको व्यवसायिकरण गर्न टेवा पु¥याउने, बर्दियाली कलाकारहरुको प्रस्तुतिबाट मनोरञ्जन प्रदान गर्ने, बर्दिया जिल्लामा रहेका ऐतिहासिक, संस्कृतिक तथा पौराणिक स्थालहरुको प्रचार प्रसार गर्ने उद्देश्य राखिएको छ ।
Advertisement
कार्यक्रममा थारु लोक कला, भेषभुषा, संस्कृति झल्किने हुरडुग्वा, लक्ठिहवा, झर्रा, सखिया, मुङग्रहवा गरी करिब आधा दर्जन बिधाका संस्कृतिक नाच प्रस्तुतिकरणका लागि तयारी तथा समन्वय गरिरहेको आयोजकले जनाएको छ । थारु समुदायमा नचिने नाच मध्ये बारबर्दिया र गुलारियामा नभएका नाचलाई अन्य पालिकाबाट समेत समन्वय गरी सहभागि गराउने बताइएको छ । सहभागि हुने सबै बिधामाध्ये करिब ३ उत्कृष्ट तिमलाई पुरास्कृत गर्ने अध्यक्ष चौधरीले बताए ।
संस्कृतिक कार्यक्रममा जिल्लाको बारबर्दिया र गुलारिया नगरपालिकाका भित्रका थारु समुदायले प्रतियोगिता तथा संस्कृतिक कार्यक्रममा भाग लिन पाउने व्यवस्था मिलाएइएको अध्यक्ष चौधरीले बताए । प्रतियोगितामा बारबर्दिया र गुलारिया नगरपालिकाबाट करिब ६० बढी समूहको सहभागिता हुने आपेक्षा गरिएको छ । प्रतियोगितामा भाग लिनका लागि निशुल्क दर्ता गर्ने व्यवस्था मिलाइएको राष्ट्रिय थारु कलाकार मंच बर्दियाका महसचिव महेशराम थारुले बताए । नाच दर्ता गराउने तिमको संख्या बढ्दै गएको र अहिलेसम्म देढ दर्जन नाच समूह दर्ता भैसकेको उनले बताए ।
कार्यक्रममा थारु कला संस्कृति संरक्षणमा लामो समयदेखि टेवा पु¥याउने १५ जनालाई संम्मान गर्ने कार्यक्रम रहेको छ । यस्तै कला संस्कृति संरक्षणमा कलम चलाउने १० पत्रकार र कला संस्कृति संरक्षणमा सहयोग गर्ने १० वटा संघसंस्थाका प्रतिनिधिलाई पनि सम्मान गर्ने आयोजकले जनाएको छ ।








