बुटवल । लुम्बिनी प्रदेशका जिल्लामा होलीका लागि विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशका सबै जिल्लामा होलीका अवसरमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्ने गरी विशेष सुरक्षा व्यवस्था अपनाइएको हो ।
जिल्लाहरूमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । बाँके समाचारदाताका अनुसार बिहीबार र शुक्रबार मनाइने होलीलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि प्रहरीले बाँकेमा एक हजार प्रहरी परिचालन गरेर कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले कसैको इच्छाविपरीत रङ दलेमा, लोला प्रहार गरेमा वा होलीपर्व मनाउने बहानामा कोही कसैमाथि दुव्र्यवहार गरेको पाइएमा कारबाही गरिने बताउनुभयो ।
उहाँले बुधबार एक भिडियो सन्देश जारी गरेर सद्भाव बिगार्नेलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिँदै सुरक्षाका लागि जिल्लामा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको बताउनुभएको छ । प्रहरीले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आग्रह गर्दै अपरिचित मानिसको समूहमा होली नखेलौँ, अशक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई कुनै पनि दुव्र्यवहार नगरौँ भन्ने अपिल पनि गरेको छ । महँगा गरगहना लगाई होली खेल्न नजान पनि प्रहरीले अपिल गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।
होलीमा नगरका विभिन्न ठाउँमा जडान गरिएका सिसी टिभी क्यामराबाट पनि निरन्तर निगरानी गरिने प्रहरीले जनाएको छ । होलीलाई मर्यादित, सुरक्षित र सभ्य बनाउन प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँचसमेत बढाउने निर्णय गरेको छ । रूपन्देहीमा पनि होलीका लागि प्रहरीले सुरक्षा सजगता अपनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले होलीमा इच्छाविपरीत रङ दलेको वा उच्छृङ्खल गतिविधि गर्नेमाथि कारबाही गरिने बताउनुभयो ।
इच्छाविपरीत रङ दले कारबाही
तम्घास समाचारदाताका अनुसार होलीमा इच्छाविपरीत रङ दल्ने कार्य गरेमा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीले चेतावनी दिएको छ । जिल्ला प्रशासनले एक सूचना जारी गर्दै फागुपर्व होलीमा कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने कार्य गरेमा प्रचलित कानुन अनुसार कारबाही गरेरै छाड्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । गोरखापत्र अनलाइन