बीबीसी/ डेढ दशकदेखि कबड्डी खेलमै समर्पित रहेकी राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुकाकुमारी राजवंशीले एशियाली खेलकुदको कांस्य पदकसम्मको यात्रामा अनेक आरोह अवरोह भोगिन् र अन्ततः एउटा ठूलो सफलता हात पारेकोमा हर्षविभोर छिन्।
सङ्घर्ष गर्न नडराउने बताउने उनले आफ्नो खेल चुस्त बनाउँदै जित्ने उद्देश्य पूरा गरेरै छोडेको बताउँछिन्।
Advertisement
१९ औँ एशियाली खेलकुदमा नेपालको तर्फबाट एक मात्र पदकका रूपमा कांस्य पदक जित्न सफल राष्ट्रिय महिला कबड्डी टोलीकी कप्तान मेनुका अहिले सपनाको उडानमा छिन्।
“म यति धेरै खुसी पहिला कहिल्यै भएकी थिइनँ,” उनी भन्छिन्।
दु:खै दु:खको लामो नदीमा बहँदै १५ वर्ष कबड्डीलाई नै जीवनको मुख्य अङ्ग बनाएको बयान गर्दै मेनुकाले यो दिनका लागि के कति सङ्घर्ष गरिन् भन्ने लामो कथा सुनाइन्।
समग्रमा उनले कबड्डीबाट के पाइन्, कबड्डीलाई के दिइन्, त्यसको प्रतिफल निकै सुखद देखिन्छ। मेनुका एउटा सफल खेलाडी मात्र बनेकी छैनन्, परिवारको दायित्व वहन गर्ने आँटिली महिला पात्रको एक उदाहरण बनेकी छन्।
कबड्डी खेलेर उनले आफ्नो पहिचान बनाइन्।
बुवाको निधनपछि परिवारको जिम्मेवारी सम्हालिन्। अनि गाउँमा एक्लिएकी आमाका लागि एक एक पैसा जोडेर एउटा घर बनाइदिइन्।
संयोग
उनलाई अझै याद छ, ९ कक्षामा पढिरहेकी मेनुका स्कुल बिदा भएका बेला फुपूको घर जाँदा जीवनले एउटा मोड लिएको थियो।
फुपूकी छोरी मञ्जुला चौधरी खोखो खेलाडी रहिछन्।
दिदीसँगै खोखो मैदानमा जाँदा उनलाई पनि रहर जाग्यो र खोखो खेल्न थालिन्।
गाउँमा काम गर्दै हुर्किएकी, बलियो जिउडालकी मेनुकाको खेलबाट प्रशिक्षक विकुलाल चौधरी प्रभावित भए र उनलाई कबड्डी खेल्न सुझाव दिए।
घर फर्केर उनले परिवारमा आफू कबड्डी खेलाडी बन्ने अठोट सुनाइन्।
खुशीको कुरा आमा बुमबतियादेवी राजवंशीले छोरीले गरेको रहरमा स्वीकृति दिइन्।
अनि उनको जीवन खेलकुदतिर मोडियो।
उनी खेलकुदमा आकर्षित हुनुमा एउटा खास कारण छ।
खेलकुदमा सफलता पाउन सके नेपाली सेना, प्रहरी वा सशस्त्र प्रहरी बल एपीएफमा जागिर पाउन सक्ने उनले थाहा पाइन्।
बुवा अर्जुनप्रसाद राजवंशी प्रहरी जागिरमा थिए।
छोरीले पनि प्रहरीमा जागिर पाए गाउँमा कति इज्जत पाइन्थ्यो भन्ने कुरा बुवाको मनमा गढ्यो।
खेलकुदमा सफल हुन सके त्यो लक्ष्य भेट्टाउने उनले बुझिन् र त्यसलाई नै जीवनको लक्ष्य बनाइन्। तर त्यो लक्ष्यमा पुग्न त्यति सहज थिएन।
सङ्घर्ष
गाउँमा कबड्डी खेलको प्रशिक्षण हुँदैनथ्यो।
मेनुका एक घण्टा साइकल चढेर विराटनगरस्थित कवर्डहल पुग्थिन्।
प्रशिक्षण सकेर घर फर्किन्थिन्। घाँसपात गर्थिन् र आमालाई भान्छामा पनि सघाउँथिन्।
त्यहीँबाट एउटा नियमित सङ्घर्षको यात्रा उनल सुरु गरिन् र गन्तव्य नुपुग्दासम्म कहिल्यै थकाइ महसुस गरिनन्।
गाउँमा कुरा काट्नेको कमी थिएन। “फलानाकी छोरी त केटाहरूसँग लहसिँदै खेलतिर लागेकी छ। यसले बाउ आमाको नाक काट्ने भइ” भनेको सुन्नुपर्थ्यो।
उनी भन्छिन्, “त्यस्ता कुराले परिवारलाई केही समय असजिलो भयो। तर मलाई त झन् बलियो बनायो। जसले जे भने पनि म खेल छोड्नेवाला थिइनँ।”
त्यसको परिणाम पनि छिट्टै नै देखियो। प्रशिक्षण लिएको ६ महिनापछि उनी पाँचौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल टोलीमा छानिइन्।
मेनुकाको राष्ट्रिय खेल तर्फको पाइला एक कदम अगाडि बढ्यो।
त्यही मेसोमा विसं २०६५ सालमा उनले पहिलो पटक काठमाण्डू देखिन्।
ठूलो होटलमा बसेर बाहिर हेर्दा उनलाई सहर झिलिमिली लाग्यो। अन्य खेलाडीबारे जान्न पाइन्। पत्रपत्रिकामा फोटो देख्न पाइन्। यसले मेनुकालाई थप उत्साही बनायो।
मेनुकाका अनुसार पाँचौँ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चल बलियो टोली थियो।
तर उनको टोली तेस्रो स्थानमा सीमित भएपछि थप मेहनत जरुरी पर्यो।
त्यसपछि उनले प्रशिक्षणमा झन् मेहनत गर्न थालेको बताउँछिन्।
परिणामस्वरूप धनगढीमा भएको छैटौँ राष्ट्रिय प्रतियोगितामा उनी पूर्वाञ्चलको कप्तानका रूपमा चुनिइन्।
सेनातिर पाइला
छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनको खेल देखेर विभागीय टोली प्रभावित भइसकेका थिए। तर उनलाई प्रस्ताव भने आइसकेको थिएन।
त्यसपछि पूर्वाञ्चलको टोली भारतको फरिदावादमा एउटा प्रतियोगितामा भाग लिन पुगेको थियो।
त्यो प्रतियोगिता खेल्न नेपाली सेनाको टोली पनि पुगेको रहेछ। त्यहाँ मेनुकाको खेल देखेपछि सेनाका अधिकारीहरूले उनलाई सेनामा आउन प्रस्ताव राखे।
सेनामा जागिर खुलेको समय थियो त्यो। उनले त्यसलाई सहजै स्वीकार गरिन् किनभने उनको खेल जीवनको सुरुको एउटा लक्ष्य त्यस्तै कुनै जागिरसम्म पुग्नु थियो।
उनी सम्झिन्छिन्, “मैले कबड्डी खेल्न स्वीकृति माग्ने बेलामा आमालाई ‘गेम’ खेल्छु र पहिलो जागिर खाने महिला हुन्छु भनेर वाचा गरेकी थिएँ। त्यो पूरा भएको थियो त्यस दिन।”
त्यसपछि गाउँमा उनको इज्जत बढ्न थाल्यो।
बुवा प्रहरीमा, छोरी सेनामा भन्दै गाउँमा परिवारकै चर्चा चुलियो।
घरको भित्तामा एकातिर बुवाको र अर्कोतिर छोरीको फोटो झुण्डियो। घरमा आउने जोकोहीले त्यो देख्न सक्थे।
सङ्घर्षको श्रृङ्खला
तर संसारको रीत कस्तो- खुसी केवल केही दिनको पाहुना बनिदियो।
यता सेनामा सुरुको ९ महिने तालिम चलिरहेको थियो, उता घरमा बुवाको निधन भएको खबर आयो।
प्रशिक्षणमा ‘पास’ हुने कार्यक्रममा भाग लिन बुवासहित परिवारका सदस्यहरू काठमाण्डूमा आउने तयारीमा थिए।
तर चार दिन बाँकी हुँदै बुबाको निधन भयो। परिवारमा ठूलो बज्रपात पर्यो।
मेनुकाको काँधमा घरको जिम्मेवारी थपियो। यता सेनामा कबड्डी बलियो बनाउने नयाँ जिम्मेवारी त छँदै थियो।
यी सबै असहज परिस्थितिमाझ मेनुकाले शोकलाई शक्तिमा बदलिन्। त्यतिबेला कबड्डी उनको शक्ति बन्यो भने सेनाको साथ उनको बल।
मेनुकाको उपस्थितिले सेनामा कबड्डी खेल पनि थप बलियो बनेको प्रमाणित हुँदै गयो।
किनभने सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा सेना च्याम्पियन बन्यो।
राष्ट्रिय टोलीमा पनि सेनाको उपस्थिति बलियो छ।
सेनामा बिताएको १० वर्षमा मेनुका पनि हवलदार बनिसकिन्।
“कबड्डी र सेनाको साथ नभएको भए जीवन कसरी बित्थ्यो होला थाहा छैन। कतै बिहे गरेर गुमनाम भइसक्थेँ कि।”
आमालाई घर
सेनामा १० वर्ष जागिर खाँदा उनले जोगाएको रकमबाट गाउँमा आमालाई एउटा चिटिक्क परेको घर बनाइदिइन्। यो गाउँकै लागि एउटा उदाहरण थियो।
एक जना दाजु र तीन दिदीबहिनीमध्ये मेनुका माइली हुन्।
दाइ काठमाण्डूमा, दिदी र बहिनी इलाममा बस्न थालेपछि गाउँमा आमा एक्लै भइन्।
पुरानो घरमा आमालाई एक्लै बस्न कति गाह्रो भएको होला भन्ने ठानिरहन्थिन् मेनुका।
यसैले नै उनले जागिर खाँदै अठोट गरेकी थिइन्- आमाका लागि गाउँमा एउटा घर बनाइदिन्छु।
उनले त्यो अठोट पूरा गरेको पोहोर मात्रै हो। “अब बल्ल ढुक्क भएँ,” उनले भनिन्।
घर नै बनाउनका लागि कसरी पैसा जम्मा गरिन् त?
उनी भन्छिन्, “थोरै खाए पनि अघाइन्छ। धेरै खानेलाई पनि पुग्दैन। यो त आफूमा भर पर्ने कुरा हो। मैले जोगाएकी हुँ।”
उनका अनुसार साथीहरू उनलाई खर्च नगर्ने केटी भन्दै जिस्काउँछन्।
मेनुकाले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको भनेको सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता हो।
त्यसमा टोलीले कांस्य पदक जित्यो।
“टोलीमा म जुनियर सदस्य थिएँ। दिदीहरूसँग अनुशासन सिकेँ। देशभित्र खेल्नु र अरू देशका प्रतिद्वन्द्वीसँग खेल्नुको फरक थाहा पाएँ। पहिलो अनुभव स्मरणीय रह्यो।”
त्यसपछि महिला टोलीले एकै पटक खेलेको भनेको नेपालमै सम्पन्न १३ औँ दक्षिण एशियाली खेलकुद थियो।
जहाँ महिला टोलीले फाइनलसम्म पुगेर इतिहास रचेको थियो। त्यसबेला कप्तान उनै मेनुका थिइन्।
फाइनलमा पुगेकै कारण महिला कबड्डीलाई पहिलो पटक एशियाली खेलकुदमा सहभागिता गराइएको थियो।
जसमा टोलीले पहिलो सहभागितामै कांस्य पदक जित्यो।
आगामी यात्रा
एसियाडमा कांस्य जितेपछि मेनुका र उनको टोलीले थप सपना बुनेका छन्।
सहरतिर हराउन थाले पनि गाउँ गाउँमा अहिले पनि चर्चित रहेको मौलिक खेल कबड्डी जोगाउन एउटा कवर्ड हल बनाउनुपर्ने धारणा मेनुकाले राखिसकेकी छन्।
“खेलाडीको रूपमा अझै खेल्नु छ। त्यसपछि सरकारले कवर्ड हल बनाइदिए त्यहाँ प्रशिक्षक बन्ने इच्छा छ,”
उनले भनिन्, “गाउँमा हिजो छोरी भएर पनि खेल्ने भन्नेहरूले अहिले आफ्ना छोरीहरूलाई पनि कबड्डी सिकाइदेउ भनिरहेका छन्। त्यसैले गाउँ पनि जानुछ।”









